काठमाडौं । सरकारले
गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त गर्ने निर्णय
गरेको छ ।
प्रधानमन्त्री तथा
मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले कैलालीका
रावललाई गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा नियुक्त गर्ने निर्णय गरेको सरकारका
प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
बैठकले सुरक्षण मुद्रण
केन्द्रको कार्यकारी निर्देशक पदमा मोरङका देवराज ढुङ्गानालाई नियुक्त गर्ने
निर्णय गरेको छ । यस्तै, बैठकले
नेपाल प्रहरीका आठ प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)लाई सरुवा गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को
बैठकले संलग्न सामुद्रिक कानुनसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धिअन्तर्गतको
राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो
प्रयोगसम्बन्धी सम्झौता (बिबिएनजे) अनुमोदनका लागि संघीय संसदमा पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ ।
बैठकले शिक्षा (दशौँ संशोधन) नियमावली,
२०८३ पनि स्वीकृत गर्ने निर्णय गरेको मन्त्री पोखरेलले बताए ।
राष्ट्रिय सदाचार नीति, २०८३ र राष्ट्रिय विज्ञापन नीति,
२०८३ स्वीकृत गर्ने पनि बैठकले निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकले
अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्न बनेको विधेयकलाई संघीय
संसद्समा पेस गर्न स्वीकृति दिएको छ । त्यसैगरी, विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको रिक्त
कार्यकारी निर्देशक पदमा धनकुटाका धर्मराज खड्कालाई नियुक्त गर्ने निर्णय गरेको छ
।
यस्तै बैठकले कमैया
श्रम (निषेध गर्ने) सम्बन्धी
(पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने समेत निर्णय गरेको प्रवक्ता पोखरेलले जानकारी दिए ।