काठमाडौं ।
शिक्षा तथा खेलकुद प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथाव्यावसायिक तालिम
परिषद् (सिटिइभिटि) को
एकेडेमिक काउन्सिलमा सूचना प्रविधि, उद्योग, स्टेम शिक्षा तथा नर्सिङ-जनस्वास्थ्य क्षेत्रका चार
जना विज्ञलाई सदस्यका रूपमा मनोनयन गरेको छ ।
मन्त्रालयले आईटी तथा
डिजिटल नीति विज्ञ डा. अमृता शर्मा, नेपाल उद्योग परिसंघका अध्यक्ष विरेन्द्र राज पाण्डे, कर्खानाका सह-संस्थापक तथा स्टेम शिक्षा विज्ञ डा. दिपेश्वर मान श्रेष्ठ र नर्सिङ तथा जनस्वास्थ्य क्षेत्रकी विज्ञ प्रमिला राना लाई
काउन्सिल सदस्यमा नियुक्त गरेको हो ।
सिटिइभिटिको एकेडेमिक
काउन्सिल परिषद्को शैक्षिक तथा प्राज्ञिक नेतृत्व गर्ने प्रमुख निकाय हो । यसले
पाठ्यक्रम विकास, नयाँ
कार्यक्रमको स्वीकृति, शैक्षिक गुणस्तर सुनिश्चितता, मूल्यांकन प्रणाली तथा प्राविधिक एवं व्यावसायिक शिक्षाको दीर्घकालीन
नीतिगत दिशानिर्देशनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
मनोनित सदस्यहरूमध्ये
डा. अमृता शर्मा सूचना प्रविधि, डिजिटल
रूपान्तरण, डिजिटल अर्थतन्त्र तथा सार्वजनिक नीतिका
क्षेत्रमा सक्रिय अनुसन्धानकर्ता तथा नीतिगत विज्ञका रूपमा परिचित छिन् ।
सूचना तथा सञ्चार
प्रविधि क्षेत्रमा रोजगारीयोग्यता विषयमा विद्यावारिधि प्राप्त उनले सूचना प्रविधि
उद्योगको विकास, डिजिटल सीप,
सेवा निर्यात तथा नीतिगत सुधारका विषयमा उल्लेखनीय अध्ययन तथा
अनुसन्धान गरेका छन् ।
उनको नेतृत्वमा एकीकृत विकास अध्ययन संस्थान (आईआईडीएस) ले सञ्चालन गरेको ‘अनलिसिङ आईटी : एड्भान्सिङ नेपाल्स डिजिटल इकोनोमी’ अध्ययनले नेपाललाई सूचना प्रविधि
सेवा निर्यातको प्रमुख गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना औँल्याउँदै
त्यसका लागि आवश्यक नीतिगत सुधार, दक्ष जनशक्ति विकास र निजी
क्षेत्रसँगको सहकार्यका विषयमा महत्वपूर्ण सुझाव प्रस्तुत गरेको थियो ।
नेपाल उद्योग परिसंघका
अध्यक्ष विरेन्द्र राज पाण्डे निर्माण, पूर्वाधार तथा औद्योगिक क्षेत्रका स्थापित उद्यमी छन् । इन्जिनियरिङ
पृष्ठभूमिका उनले तीन दशकभन्दा बढी समयदेखि निर्माण व्यवसाय, पूर्वाधार विकास तथा निजी क्षेत्रको नेतृत्व गर्दै आएका छन् । उद्योग
क्षेत्रको अनुभवले प्राविधिक शिक्षालाई उद्योगको आवश्यकता, उत्पादन
प्रणाली र श्रम बजारसँग अझ प्रभावकारी रूपमा जोड्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
त्यसैगरी, कर्खानाका सह-संस्थापक
डा. दिपेश्वर मान श्रेष्ठले अमेरिकाको टफ्ट्स
विश्वविद्यालयबाट स्टेम शिक्षामा विद्यावारिधि प्राप्त गरेका छन् । नेपालमा विज्ञान,
प्रविधि, इन्जिनियरिङ, कला
तथा गणितमा आधारित व्यावहारिक सिकाइ, शिक्षकको व्यावसायिक
क्षमता विकास, ‘मेकिङ’ संस्कृतिको प्रवर्धन तथा नवप्रवर्तनमुखी
शिक्षाको विस्तारमा उनले उल्लेखनीय योगदान दिँदै आएका छन् । उनको अनुभवले
सिटिइभिटिको प्राविधिक शिक्षालाई सिर्जनशीलता, अनुसन्धान र
उद्यमशीलतासँग जोड्न सहयोग पुग्ने विश्वास गरिएको छ ।
नर्सिङ तथा
जनस्वास्थ्य क्षेत्रकी विज्ञ प्रमिला रानाले भारतबाट नर्सिङमा स्नातकोत्तर उपाधि
हासिल गर्नुका साथै नेदरल्यान्ड्सको वागेनिङ्गेन विश्वविद्यालयबाट स्वास्थ्य तथा
समाज विषयमा फेलोसिप पूरा गरेका छन् ।
हाल नेपाल रेडक्रस सोसाइटीमा क्लिनिकल कोअर्डिनेटरका
रूपमा कार्यरत उनले यसअघि सेभ द चिल्ड्रेन, नर्भिक इन्टरनेशनल अस्पताल लगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय
संस्थामा जनस्वास्थ्य, नर्सिङ सेवा, आपत्कालीन
प्रतिकार्य तथा वास कार्यक्रमको नेतृत्वदायी जिम्मेवारी सम्हालेका थिए । स्वास्थ्य
तथा प्राविधिक शिक्षामा उनको अनुभवले स्वास्थ्य क्षेत्रका दक्ष जनशक्ति उत्पादन र
व्यावहारिक शिक्षाको गुणस्तर अभिवृद्धिमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।
सूचना प्रविधि, उद्योग, स्टेम शिक्षा
तथा स्वास्थ्य क्षेत्रका अनुभवी व्यक्तित्वहरूको सहभागिताले सिटिइभिटिको एकेडेमिक
काउन्सिललाई बहुआयामिक विशेषज्ञता प्रदान गर्ने विश्वास गरिएको छ।
प्राविधिक तथा
व्यावसायिक शिक्षालाई आधुनिक प्रविधि, उद्योगको आवश्यकता,
नवप्रवर्तन र श्रम बजारसँग थप प्रभावकारी रूपमा जोड्दै गुणस्तरीय
तथा रोजगारमुखी शिक्षा प्रणाली विकासमा यस मनोनयनले महत्वपूर्ण भूमिका खेल्ने
अपेक्षा गरिएको छ ।