नयाँ दिल्ली । भारत र जापानले द्विपक्षीय व्यापारमा अमेरिकी डलरको निर्भरता घटाउँदै भारतीय रुपैयाँ र जापानी येनमा सिधै कारोबार गर्ने प्रणाली लागू गर्ने तयारी गरेका छन् । निक्केई एसियाका अनुसार, यस सम्बन्धी घोषणा जापानी प्रधानमन्त्री साने ताकाइचीको भारत भ्रमणका क्रममा हुन सक्ने सम्भावना रहेको छ ।
सानो ताकाइची आज तीन दिने भारत भ्रमणमा जाँदै छिन् । ताकाइची र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच हुने १६औँ भारत–जापान वार्षिक शिखर सम्मेलनमा व्यापार, लगानी, रक्षा, अर्धचालक, कृत्रिम बुद्धिमत्ता (एआई), अटोमोबाइल, आपूर्ति शृङ्खला र इन्डो–प्यासिफिक क्षेत्रको सुरक्षालगायत विषयमा छलफल हुनेछ।
प्रस्ताव कार्यान्वयन भएमा जापानी कम्पनीहरूले भारतीय बैंकमा विशेष खाता खोली रुपैयाँ र येनमै प्रत्यक्ष भुक्तानी गर्न सक्नेछन् । यसका लागि अमेरिकी डलर वा तेस्रो देशका बैंकको आवश्यकता नपर्ने भएकाले विदेशी मुद्रा सटही खर्च घट्ने, भुक्तानी प्रक्रिया छिटो हुने र व्यापार थप सहज बन्ने अपेक्षा गरिएको छ ।
भारत जापानबीच स्थानीय मुद्रामा व्यापार विस्तार गर्ने विषय नयाँ भने होइन । यसअघि सन् २०२५ मा प्रधानमन्त्री मोदीको जापान भ्रमणका क्रममा जारी गरिएको १० वर्षे संयुक्त दृष्टिपत्रमा पनि यस्तो व्यवस्था अघि बढाउने सहमति भएको थियो । त्यसलाई कार्यान्वयन गर्न जापानको अर्थ मन्त्रालयले आर्थिक वर्ष २०२६ मा भारतीय रिजर्भ बैंक (आरबीआई)सँग सहकार्य सम्झौता गर्ने तयारी गरेको छ ।
भारतले सन् २०२२ देखि ‘विशेष रुपैयाँ भोस्ट्रो खाता’मार्फत अन्तर्राष्ट्रिय व्यापारमा रुपैयाँको प्रयोगलाई प्रोत्साहन गर्दै आएको छ। हाल ३० देशका १२३ विदेशी बैंकका लागि २६ भारतीय बैंकमा १५६ यस्ता खाता सञ्चालनमा छन्।
भारत–जापान बिचको आर्थिक गतिविधि पनि ठूलो छ । आर्थिक वर्ष २०२५–२६ मा दुई देशबीचको व्यापार २७.५ अर्ब अमेरिकी डलर पुगेको छ भने अप्रिलदेखि डिसेम्बरसम्म जापानले भारतमा ३.२ अर्ब डलर लगानी गरेको छ। आगामी १० वर्षमा ६१ अर्ब डलरभन्दा बढी लगानी गर्ने जापानको लक्ष्य रहेको छ।