काठमाडौँ।
नेपाली काँग्रेसले आगामी १५औँ महाधिवेशनको सांगठनिक आधार तयार गर्न देशभर नयाँ क्रियाशील सदस्यता वितरण अभियानलाई तीव्रता दिएको छ। यसै सिलसिलामा पार्टीले देशका ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ।
पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार, नयाँ सदस्यता वितरण कार्यलाई थप प्रभावकारी, व्यवस्थित र पारदर्शी बनाउन केन्द्रीय प्रतिनिधिहरूलाई जिम्मेवारी दिइएको हो। खटिएका प्रतिनिधिहरूलाई आगामी असार ७ गतेदेखि २० गतेसम्म सम्बन्धित जिल्लामै बसेर सदस्यता वितरण प्रक्रियाको प्रत्यक्ष अनुगमन, समन्वय र सहजीकरण गर्न निर्देशन दिइएको छ।
यसपटकको सदस्यता वितरणमा कांग्रेसले युवा पुस्तालाई पार्टीको मूलधारमा ल्याउन विशेष रणनीति अपनाएको देखिन्छ। केन्द्रीय कार्यालयले प्रतिनिधिहरूलाई दिएको कार्यादेशमा ३५ वर्षमुनिका युवाहरूको अधिकतम प्रतिनिधित्व सुनिश्चित गर्न विशेष जोड दिइएको छ।
"नयाँ क्रियाशील सदस्यता वितरण प्रक्रियामा विशेषगरी ३५ वर्षमुनिका युवाको अधिकतम प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यका साथ तोकिएका केन्द्रीय प्रतिनिधिले २०८३ असार ७ देखि २० गतेसम्म सम्बन्धित जिल्लामा उपस्थित भई समन्वय, सहजीकरण तथा जिम्मेवारी निर्वाह गर्नुहुनेछ," पार्टीद्वारा जारी कार्यादेशमा उल्लेख छ।
कांग्रेसले १५औँ महाधिवेशनलाई लक्षित गर्दै पार्टीको संरचनामा नयाँ रक्तसञ्चार गर्न खोजेको छ। पछिल्लो समय राजनीतिमा युवाहरूको बढ्दो आकर्षण र बदलिँदो जनमतलाई मध्यनजर गर्दै कांग्रेसले आफ्नो सदस्यता आधारमा युवाहरूको हिस्सा बढाउन खोजेको विश्लेषण गरिएको छ।
केन्द्रीय प्रतिनिधिहरूले जिल्ला कार्यसमिति, क्षेत्रीय कार्यसमिति र स्थानीय तहका समितिहरूसँग समन्वय गरी सदस्यता वितरणमा देखिएका प्राविधिक तथा व्यावहारिक जटिलताहरू समाधान गर्नेछन्। असार २० गतेसम्मको यो अभियानले पार्टीको आगामी महाधिवेशनका लागि मतदाताको प्रारम्भिक सूची तयार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई सुदृढ बनाउन र नयाँ पुस्तालाई नेतृत्वदायी भूमिकामा ल्याउन यो सदस्यता अभियान कोशेढुङ्गा सावित हुने कांग्रेस नेताहरूको दाबी छ। केन्द्रीय प्रतिनिधिहरूले आफ्नो कार्यक्षेत्रको प्रतिवेदन असार मसान्तभित्र केन्द्रीय कार्यालयमा बुझाउनुपर्ने व्यवस्था समेत गरिएको छ।



