काठमाडौँ।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी असार ७–९ मा चितवनमा हुने पहिलो महाधिवेशनका लागि १३६ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव गरेको छ। विधान संशोधन समितिका संयोजक विपिन आचार्यका अनुसार, यसअघि १२९ सदस्य रहेकामा अब सभापतिसहित १३६ सदस्यीय समिति रहने प्रस्ताव गरिएको हो।
प्रस्तावित विधानअनुसार पार्टीमा १६ पदाधिकारी रहनेछन्। जसमा १० जना (सभापति, ३ उपसभापति, २ महामन्त्री र ४ सहमहामन्त्री) महाधिवेशनबाट निर्वाचित हुनेछन् भने ६ जना (प्रवक्ता, ३ सहप्रवक्ता, कोषाध्यक्ष र सहकोषाध्यक्ष) सभापतिले मनोनयन गर्नेछन्। पदाधिकारीमा महिला र सीमान्तकृत समुदायको अनिवार्य प्रतिनिधित्वको व्यवस्था समेत गरिएको छ।
हाल वरिष्ठ नेताका रूपमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को पदलाई विधानमा कसरी समेट्ने भन्नेबारे भने अझै टुङ्गो लागेको छैन। पार्टीको वेबसाइटमा शाहलाई दोस्रो वरीयतामा राखिए पनि विधानमा 'वरिष्ठ नेता' को प्रावधान नभएकाले यसबारे सचिवालय बैठकले निर्णय लिने नेता गणेश पराजुलीले जानकारी दिए। महाधिवेशनमा सभापतिको निर्वाचन पहिलो चरणमा र अन्य पदाधिकारीको निर्वाचन दोस्रो चरणमा हुने व्यवस्था गरिएको छ। सभापतिमा रवि लामिछाने नै दोहोरिने निश्चित देखिएको छ।