काठमाडौँ।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सरकारले तय गरेका शासकीय सुधारसम्बन्धी एक सय बुँदे कार्यसूचीलाई केन्द्रमा राखेर मन्त्रालयले काम गरिरहेको बताएकी छन्। आइतबार मन्त्रालयमा आयोजित सञ्चारकर्मीसँगको भेटघाटमा बोल्दै मन्त्री मेहताले प्रधानमन्त्रीको निर्देशनअनुसार प्राथमिकताका कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनमा आफूहरू सक्रिय रहेको जानकारी दिइन्।
उनले स्वास्थ्य क्षेत्रमा अझै धेरै सुधार गर्न बाँकी रहेको स्वीकार गर्दै ती विषयलाई योजनाबद्ध रूपमा अघि बढाइने प्रतिबद्धता व्यक्त गरिन्। नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरण निर्माण गर्नु नै मन्त्रालयको मुख्य लक्ष्य रहेको उनको भनाइ थियो।
सोही कार्यक्रममा स्वास्थ्य सचिव डा. विकास देवकोटाले अस्पताल सुधार, औषधि व्यवस्थापन र सेवाको गुणस्तर अभिवृद्धिका लागि नीतिगत सुधारका कामहरू भइरहेको जानकारी दिए। उनले आगामी आर्थिक वर्षदेखि यी सुधारका कार्यक्रमहरूलाई अझ बढी परिणाममुखी ढंगले कार्यान्वयन गरिने बताए। मन्त्रालयले स्वास्थ्य क्षेत्रको दीर्घकालीन सुधारका लागि आवश्यक कानुनी संरचना निर्माणलाई समेत प्राथमिकतामा राखेको छ।