काठमाडौँ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) नौसेनाले होर्मुज जलडमरूमध्यको व्यवस्थापनमा अमेरिकाले कुनै पनि प्रकारको हस्तक्षेप गरे 'कडा सैन्य प्रतिक्रिया' दिने चेतावनी दिएको छ। आईआरजीसीले समुद्री रेडियो च्यानलमार्फत सन्देश जारी गर्दै होर्मुज जलडमरूमध्य हाल बन्द रहेको र त्यहाँबाट आवतजावत गर्न इरानी अधिकारीहरूको अनुमति अनिवार्य हुने घोषणा गरेको छ।
इरानले अमेरिकी नौसेनाले समुद्री आवागमन अवरुद्ध गर्ने वा व्यवस्थापनमा दखल दिने प्रयास गरे सैन्य कारबाही गर्ने स्पष्ट पारेको छ। यसैबीच, अन्तर्राष्ट्रिय समुद्री निकायहरूले सो क्षेत्रको स्थिति अत्यन्त संवेदनशील रहेको र इरानी बन्दरगाहहरूमा प्रवेश वा बहिर्गमन निषेध गरिएको जनाएका छन्।
सोही क्षेत्रमा रहेका जहाजका चालक दलका अनुसार अमेरिकी सैन्य विमानले एक जहाजलाई तत्काल मार्ग परिवर्तन गर्न चेतावनी दिएको र त्यसको गतिविधि निगरानीमा राखिएको छ। विश्वकै सबैभन्दा महत्त्वपूर्ण ऊर्जा आपूर्ति मार्ग मानिने होर्मुज जलडमरूमध्यमा बढेको यो तनावले अन्तर्राष्ट्रिय सुरक्षा र इन्धन आपूर्तिमा गम्भीर संकट पैदा गर्न सक्ने देखिएको छ।