काठमाडौँ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलाई ‘गैरजिम्मेवार र हावादारी’ को संज्ञा दिएको छ। शनिबार सिंहदरवारमा बसेको एमाले संसदीय दलको झण्डै ६ घण्टा लामो बैठकले बजेटले आम जनताको भावना र देशको वर्तमान आवश्यकतालाई समेट्न नसकेको ठहर गरेको हो।
बैठकपछि सञ्चारकर्मीसँग बोल्दै प्रमुख सचेतक ऐन बहादुर महरले बजेटको स्रोत सुनिश्चितता नभएको र यो पूर्ण रूपमा ऋणमा भर परेको बताए। "दुई तिहाइ जनमत प्राप्त सरकारले ल्याउनुपर्ने रूपान्तरणकारी बजेट आउन सकेन," महरले भने, "यो बजेटले गरिब, मजदुर, किसान, महिला र विद्यार्थी कसैलाई पनि ध्यान दिन सकेको छैन।"
बैठकमा पूर्वअर्थमन्त्रीहरू विष्णु पौडेल, सुरेन्द्र पाण्डे, डा. युवराज खतिवडा र योजना आयोगका पूर्वउपाध्यक्ष डा. शिवराज अधिकारीले बजेटका प्राविधिक पक्षबारे सांसदहरूलाई जानकारी गराएका थिए। एमालेले शिक्षा, कृषि र पर्यटन जस्ता महत्त्वपूर्ण क्षेत्रलाई बजेटले उपेक्षा गरेको आरोप लगाएको छ। आगामी जेठ १८ गतेदेखि संसद्मा सुरु हुने बजेट छलफलमा यी कमजोरीहरूलाई सशक्त रूपमा उठाउने निर्णय एमालेले गरेको छ।