काठमाडौँ
चितवनको इच्छाकामना गाउँपालिका–१ कुलबाङमा जङ्गली च्याउ खाँदा एक बालिकाको मृत्यु भएको छ भने दुई जना गम्भीर बिरामी परेका छन्। च्याउ सेवनका कारण ६ वर्षीया नमुना चेपाङको आज बिहान घरमै मृत्यु भएको हो।
उनी हात्तीबाङस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा २ मा अध्ययनरत थिइन्। च्याउ खाएर बिरामी परेकी नमुनाको मृत्यु भएपछि मात्रै घटनाबारे स्थानीयलाई जानकारी भएको थियो। उनका दाजु सजन चेपाङ र दिदी मनिता चेपाङ पनि सोही च्याउ खाएर बिरामी परेका हुन् र दुवैलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको छ।
गत मङ्गलबार उनीहरूले घरमै जङ्गली च्याउ खाएको र त्यसपछि बिरामी परे पनि परिवारले समयमै उपचार गराउन सकेका थिएनन्। घटनापछि स्थानीयवासीको सहयोगमा दुवै बिरामीलाई अस्पताल पुर्याइएको हो। मनिताको अवस्था गम्भीर रहेको र उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ।
भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा. प्रमोद पौडेलका अनुसार जङ्गली च्याउमा पाइने विषले कलेजो, मिर्गौला र मस्तिष्कमा गम्भीर असर पुर्याउने भएकाले यस्ता घटना प्राणघातक बन्न सक्छन्। बिरामीका बुबाआमालाई पनि लक्षण देखिन सक्ने भएकाले अस्पतालमा ल्याउन आग्रह गरिएको छ।