काठमाडौँ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ राईले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई नैतिकताका आधारमा तत्काल राजीनामा दिन माग गरेका छन्। प्रधानमन्त्रीले संसद् र सार्वभौम जनताको अपमान गरेको भन्दै साम्पाङले एक विज्ञप्ति जारी गरी राजीनामाको माग गरेका हुन्।
अध्यक्ष साम्पाङले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका बेला प्रधानमन्त्री हलबाट बाहिरिएको र पुनः नफर्किएकोमा आपत्ति जनाएका छन्। प्रतिपक्षीले संसद्मा उपस्थित हुन माग गर्दा समेत संसद्मा नआई नजिकैको कार्यालयबाट ‘लाइभ’ हेरेर बसेको र नीति तथा कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिन उपस्थित नभएर संसदीय परम्पराको बेवास्ता गरेको साम्पाङको आरोप छ।
"संसदीय अभ्यासको इतिहासमा यो एउटा कालो धब्बा हो," साम्पाङले विज्ञप्तिमा भनेका छन्, "जनताको सार्वभौम सदनलाई अपमान गर्ने र प्रश्नहरूबाट लुकेर बस्ने प्रधानमन्त्री असक्षम र असफल प्रमाणित भएका छन्।" संसदीय मर्यादा र थिति बसाल्न नसक्ने प्रधानमन्त्रीले पदमा बसिरहनुको औचित्य नभएको साम्पाङको जिकिर छ।
