काठमाडौँ
पूर्वप्रशासक तथा सार्वजनिक प्रशासनका विज्ञहरूले सरकारले अघि बढाएको प्रशासनिक सुधार र सुशासनसम्बन्धी कदमको स्वागत गरेका छन्। दशकौँदेखि थाती रहेका सुधारका विषयहरू कार्यान्वयनतर्फ अघि बढेको भन्दै उनीहरूले यसलाई सकारात्मक संकेतका रूपमा लिएका छन्।
पूर्वमुख्यसचिव विमल कोइरालाले हालका सुधारले प्रशासनप्रति जनविश्वास बढाउन मद्दत गरेको बताउँदै यसलाई राम्रो सुरुवातको संज्ञा दिएका छन्। उनका अनुसार सवारीचालक अनुमति पत्र, नागरिकता र राहदानी वितरण प्रक्रियामा भएका सुधारले सेवा प्रवाह प्रभावकारी बन्ने देखिएको छ। साथै मन्त्रालय संख्या घटाउने सरकारको तयारीलाई पनि उनले उचित कदम बताएका छन्।
लोक सेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनालीले प्रशासन सुधारका प्रयासलाई सकारात्मक भन्दै सेवा प्रवाह चुस्त बनाउन सरकार केन्द्रित देखिएको बताएका छन्। उनले राजनीतिक प्रभाव घटाउने, मन्त्रालयको संख्या कम गर्ने र प्रशासनिक संरचना पुनर्संरचना गर्ने प्रयासलाई सुधारतर्फको महत्वपूर्ण कदमका रूपमा व्याख्या गरेका छन्।
त्यस्तै, परराष्ट्रविद् जयराज आचार्यले मन्त्रालय घटाउने तथा सार्वजनिक र शैक्षिक संस्थालाई राजनीतिक प्रभावबाट मुक्त गर्ने प्रयासको प्रशंसा गरेका छन्। उनले वर्षौँदेखि उठाउँदै आएको विषय अहिले कार्यान्वयनतर्फ अघि बढेको भन्दै सरकारप्रति धन्यवाद व्यक्त गरेका छन्।