काठमाडौँ
सेवाग्राहीलाई सहज, छरितो र प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय महोत्तरीले राहदानी वितरणमा नयाँ व्यवस्था लागू गरेको छ। अब राहदानी बनाउने सेवाग्राहीले आफ्नै घर ठेगानामै राहदानी प्राप्त गर्न सक्ने भएका छन्।
नेपाल सरकारको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीअन्तर्गत बुँदा नम्बर २७ कार्यान्वयन गर्दै जिल्ला प्रशासन कार्यालय महोत्तरी र जिल्ला हुलाक कार्यालयबीच समझदारी भएपछि उक्त सेवा सुरु गरिएको हो।
सेवा कार्यान्वयनका लागि जिल्ला प्रशासन कार्यालय महोत्तरीका प्रशासकीय अधिकृत कामेश्वर यादव र जिल्ला हुलाक कार्यालय महोत्तरीका हुलाक अधिकृत रामचन्द्र साहबीच समझदारीपत्रमा हस्ताक्षर गरिएको छ। यससँगै राहदानी वितरण सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ।
सम्झौताअनुसार सेवाग्राहीले राहदानीका लागि आवेदन दिँदा उल्लेख गरेको ठेगानामै नेपाल हुलाक सेवामार्फत सुरक्षित रूपमा राहदानी पुर्याइनेछ। हुलाक कार्यालयले राहदानीको सुरक्षित ढुवानी, प्राप्तकर्ताको पहिचान पुष्टि गरी हस्तान्तरण गर्ने तथा वितरणसम्बन्धी अभिलेख राख्ने जिम्मेवारी लिनेछ।
यसअघि राहदानी लिन सेवाग्राही आफैं सम्बन्धित कार्यालय पुग्नुपर्ने बाध्यता रहेको थियो। नयाँ व्यवस्थाले समय, खर्च र झन्झट घटाउने विश्वास गरिएको छ। विशेषगरी ग्रामीण क्षेत्रका नागरिकलाई यसबाट बढी लाभ पुग्ने अपेक्षा गरिएको छ।
कार्यालयले आवेदन फाराम भर्दा आफ्नो ठेगाना र सम्पर्क विवरण स्पष्ट तथा सही रूपमा उल्लेख गर्न सेवाग्राहीलाई आग्रह गरेको छ। साथै, सेवा प्रभावकारी रूपमा सञ्चालन गर्न सम्बन्धित निकायबीच समन्वय थप सुदृढ बनाइने जनाइएको छ।
