काठमाडौँ
जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सकमाथि भएको दुर्व्यवहार र सामाजिक सञ्जालमा फैलाइएको भ्रामक प्रचारप्रति नेपाल चिकित्सक सङ्घले आपत्ति जनाएको छ।
सङ्घले बिहीबार विज्ञप्ति जारी गर्दै युवा अभियन्ताको नाममा चिकित्सकहरूको मर्यादामा आँच पुर्याउने र उनीहरूलाई त्रास सिर्जना गर्ने गतिविधि भएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएको हो।
घटनाअनुसार, प्रतिष्ठानको क्यान्टिनमा खाजा खाइरहेका चिकित्सकहरूलाई केही व्यक्तिहरूले दुर्व्यवहार गर्दै आक्रमणको धम्की दिएका थिए। त्यस क्रममा चिकित्सकहरूको भिडियो खिची युट्युब, फेसबुकलगायत सामाजिक सञ्जालमा तथ्यहीन आरोप र अफवाह फैलाइएको सङ्घले जनाएको छ।
सङ्घका महासचिव डा. सञ्जीव तिवारीद्वारा जारी विज्ञप्तिमा स्वास्थ्यकर्मीमाथिको यस्तो व्यवहार निन्दनीय भएको उल्लेख गरिएको छ। साथै, सामाजिक सञ्जालमा फैलाइने अफवाहले नागरिक र स्वास्थ्यकर्मीबीचको सम्बन्धमा द्वेष सिर्जना गर्ने खतरा रहेको बताइएको छ।
सङ्घले यस्ता गतिविधिले चिकित्सकहरू मानसिक रूपमा त्रसित हुनुका साथै स्वास्थ्य सेवा प्रवाहमा समेत असर पर्ने चेतावनी दिएको छ। साथै, घटनामा संलग्न व्यक्तिहरूलाई पहिचान गरी कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरिएको छ।
त्यस्तै, स्वास्थ्यकर्मीको सुरक्षाको प्रत्याभूति सुनिश्चित गर्न र भविष्यमा यस्ता घटना दोहोरिन नदिन ठोस कानुनी कदम चाल्न पनि सरकारलाई आग्रह गरिएको छ।