काठमाडौँ
नेपाल कम्युनिष्ट पार्टी (एमाले) भित्रको विशेष महाधिवेशन पक्षधर समूहले पार्टी पुनर्गठन र रूपान्तरणको उद्देश्यसहित ‘नेक्स्टजेन एमाले’ अवधारणा सार्वजनिक गर्दै छलफल सुरु गरेको छ। पार्टीको जनविश्वास पुनःस्थापित गर्न संरचनागत र नीतिगत सुधार आवश्यक रहेको निष्कर्षसहित छलफलपत्र प्रस्तुत गरिएको हो।
७७औँ कम्युनिस्ट स्थापना दिवसका अवसरमा सार्वजनिक गरिएको उक्त अवधारणामा एमालेको वर्तमान अवस्थालाई ‘सङ्कटको घडी’ का रूपमा व्याख्या गरिएको छ। पार्टीभित्र वैचारिक, नीतिगत र संगठनात्मक चुनौती बढ्दै गएको भन्दै क्रान्तिकारी पुनर्जागरण आवश्यक रहेको उल्लेख गरिएको छ।
अभियानकर्ताहरूका अनुसार छलफलपत्रमा पार्टी नेतृत्वमा अधिकतम दुई कार्यकालको सीमा, प्रत्यक्ष मतदानबाट नेतृत्व चयन, अनिवार्य प्राइमरी प्रणाली, भ्रष्टाचारमा शून्य सहनशीलता तथा पराजयपछि अनिवार्य जवाफदेहिता जस्ता १५ बुँदे सुधार प्रस्ताव समावेश छन्।
त्यस्तै, पार्टीलाई खुला, पारदर्शी र जनमुखी बनाउन ‘ओपन कन्सल्टेसन’ तथा पार्टी–समाज संवाद प्रणाली सुदृढ गर्नुपर्ने प्रस्ताव गरिएको छ। युवाको सहभागिता वृद्धि, संरचनागत सुधार र नेतृत्व विकासलाई प्राथमिकतामा राखिएको छ।
छलफलपत्रमा राजनीतिलाई पेसागत निर्भरता होइन, सामाजिक सेवाका रूपमा विकास गर्नुपर्ने उल्लेख गर्दै पूर्णकालीन कार्यकर्ता संस्कृतिमा सुधार आवश्यक रहेको पनि औंल्याइएको छ।
अभियानकर्ताहरूले यो अवधारणामार्फत एमालेलाई वैचारिक स्पष्टता, संगठनात्मक चुस्तता र जनतासँगको सम्बन्ध सुदृढ गर्दै पुनः जनमुखी र प्रभावकारी शक्तिका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको बताएका छन्।