काठमाडौँ
मेडिकल व्यवसायी दुर्गा प्रसाद प्रसाईविरुद्ध विद्युतीय कारोबार (साइबर) ऐन अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ। जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँले उनलाई ५ वर्षसम्म कैद वा जरिवाना वा दुवै सजायको माग गर्दै अभियोगपत्र दायर गरेको हो।
अभियोगपत्रमा विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ को उपदफा (१) अनुसार प्रसाईँलाई सजाय गर्न माग गरिएको छ। सो दफाअनुसार १ लाख रुपैयाँसम्म जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था रहेको छ। साथै, उनीमाथि पटक–पटक त्यही प्रकृतिको कसुर गरेको आरोप समेत लगाइएको छ।
सरकारी वकिल कार्यालयले विद्युतीय कारोबार ऐनको दफा ४७(२) अनुसार थप सजायको माग गरेको छ भने अपराध पीडित संरक्षण ऐन, २०७५ बमोजिम पीडित राहत कोषमा क्षतिपूर्ति शुल्क भराउन पनि माग गरिएको छ।
प्रसाईँले सामाजिक सञ्जाल फेसबुकमार्फत आगामी निर्वाचनलाई लक्षित गर्दै भ्रामक तथा उत्तेजक अभिव्यक्ति दिएको अभियोगपत्रमा उल्लेख छ। विशेषगरी २०८२ फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनबारे गलत सूचना फैलाएको, निर्वाचनले देश टुक्रिने जस्ता अभिव्यक्ति दिएको आरोप उनीमाथि छ।
त्यसैगरी, उनले राजसंस्था र हिन्दु राज्य कायम नभएसम्म चुनाव हुन नदिने तथा चुनाव भए देशमा अशान्ति हुने जस्ता अभिव्यक्ति दिएका र “मर्न र मार्न तयार” भन्ने जस्ता हिंसात्मक शब्द प्रयोग गरेको प्रमाणसमेत पेश गरिएको प्रहरीले जनाएको छ।