काठमाडौँ
दैनिक रूपमा सिंहदरवार प्रवेश गर्ने सशस्त्र प्रहरीका अधिकृतहरूको विवरण उपलब्ध गराउन सशस्त्र प्रहरी बलले नेपाल प्रहरीसँग अनुरोध गरेको छ। आन्तरिक नियमावलीविपरीत भेटघाट भइरहेको आशंकापछि सशस्त्र प्रहरी मुख्यालयले यस्तो कदम चालेको हो।
सशस्त्र प्रहरीका कर्मचारीहरूले राजनीतिक दलका नेता, उच्च पदस्थ कर्मचारी तथा कूटनीतिक व्यक्तिहरूसँग भेटघाट गर्दा अनिवार्य रूपमा आन्तरिक कार्यविधि पालना गर्नुपर्ने व्यवस्था छ। तर पछिल्लो समय केही अधिकृतहरू बिना अनुमति सिंहदरबार प्रवेश गरी भेटघाट गरेको सूचना आएपछि विवरण मागिएको बताइएको छ।
सिंहदरबारमा नेपाल प्रहरीको एसपी नेतृत्वमा सुरक्षा गण खटिएको छ, जसले प्रवेश गर्ने व्यक्तिहरूको अभिलेख राख्ने गर्दछ। सोही अभिलेखका आधारमा सशस्त्र प्रहरी मुख्यालयले वैशाख ४ गते प्रहरीलाई पत्राचार गर्दै आफ्ना कर्मचारीहरूको विवरण उपलब्ध गराउन अनुरोध गरेको हो।
सशस्त्र प्रहरी नियमावली–२०७२ अनुसार अनुमति बिना वा कार्यालयको कामबाहेक भेटघाट गर्नु आचरणविपरीत मानिन्छ र यस्तो कार्यमा संलग्नलाई विभागीय कारबाही हुने व्यवस्था छ।
यसैबीच, बिना अनुमति सिंहदरबार प्रवेश गरेको आरोपमा सशस्त्र प्रहरीले दुई जना एसएसपी—नेत्र कार्की र राजेश उप्रेती—सहित एक जना एसपीसँग स्पष्टीकरण सोधेको छ। उनीहरूको जवाफपछि आवश्यक थप कारबाही प्रक्रिया अघि बढाइने सशस्त्र प्रहरी स्रोतले जनाएको छ।