काठमाडौँ
उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन सरकारसँग माग गरेका छन्। कर्णाली प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला तथा सङ्गठन विस्तार कार्यक्रमका क्रममा सोमबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो माग गरेका हुन्।
अध्यक्ष घिसिङले कर्णाली जस्तो विकट भौगोलिक क्षेत्रमा इन्धनको मूल्य वृद्धि असह्य हुने भन्दै डिजेल, पेट्रोल र ग्यासमा सहुलियत दिनुपर्ने बताए। उनले इन्धनको मूल्य वृद्धिले आन्तरिक तथा बाह्य पर्यटन र यातायातमा समेत असर पर्ने भएकाले सरकार सचेत हुनुपर्नेमा जोड दिए।
उनले छिमेकी भारतले इन्धनमा मूल्य वृद्धि नगरेको उदाहरण दिँदै नेपाल सरकारले पनि नागरिकमाथिको आर्थिक भार घटाउनुपर्ने आवश्यकता औँल्याए। साथै, मूल्य प्रणालीलाई समयानुकूल रूपमा स्तरीकरण गर्नुपर्ने उनको भनाइ थियो।
घिसिङले कर्णाली प्रदेशमा विद्युत् विस्तार र पूर्वाधार विकासका लागि आफ्नो नेतृत्वकालमा करिब ३५ अर्ब रुपैयाँको लगानी सुनिश्चित गरिएको पनि बताए। जुम्लासम्म १३२ केभी प्रसारण लाइन विस्तारको काम भइरहेको जानकारी दिँदै उनले कर्णालीको विद्युतीकरणमा प्रगति भएको उल्लेख गरे।
उनले पार्टी गठनको छोटो समयमै चुनावमा जानुपरेको कारण अपेक्षित परिणाम नआएको भन्दै आगामी निर्वाचनमा उनेपा बलियो शक्तिका रूपमा उदाउने दाबी समेत गरे। साथै, वडा तहसम्म संगठन विस्तार गरेर पार्टीलाई सुदृढ बनाइने उनले बताएका छन्।