काठमाडौँ
विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्र अन्तर्गत रहेको जयवागेश्वरी को ‘कलेवर’ फेर्ने काम तीव्र रूपमा भइरहेको छ। यस क्रममा जयवागेश्वरी, गणेश र भैरवका माटाका नयाँ मूर्तिहरू निर्माण भइरहेको पशुपति क्षेत्र विकास कोष ले जनाएको छ।
कोषका सूचना अधिकारीका अनुसार प्रत्येक १२ वर्षमा मन्दिरको कलेवर परिवर्तन गर्ने परम्परा रहेको छ। सोही परम्परा अनुसार यसपटक पनि वैशाख १८ गतेभित्र काम सम्पन्न गर्ने गरी निर्माण तथा पुनर्स्थापना कार्य अघि बढाइएको छ।
जयवागेश्वरी मन्दिरमा टाउको काटिनुअघि रहेको गणेशको मूर्ति भएकाले यहाँ सूँढ नभएको विशेषता रहेको बताइन्छ। ऐतिहासिक अभिलेखअनुसार यस मन्दिरको निर्माण कलिगत संवत् ३२३२ मा सुरु भई ४७ वर्षपछि ३२७४ मा सम्पन्न भएको मानिन्छ।
विसं १९९० को भूकम्पले क्षति पुर्याएको मन्दिर त्यसपछि पुनः मर्मत गरिएको थियो भने २०७२ वैशाख १२ को भूकम्पपछि पुनर्निर्माण गरिएको हो।
जयवागेश्वरीलाई महासरस्वती, महाकाली र महालक्ष्मीको रूपमा पनि पूजा गरिन्छ भने यहाँ विद्याकी देवीका रूपमा विशेष श्रद्धा गरिने परम्परा छ। तान्त्रिक साधनामा पनि यो क्षेत्र महत्वपूर्ण मानिन्छ। मन्दिर परिसरमा रहेका पुराना संरचनामध्ये केही, जस्तै सुन्धारा, भने लोप हुने अवस्थामा पुगेका छन्।
इतिहासविद्हरूका अनुसार जयवागेश्वरी क्षेत्र उपत्यकाको प्राचीन राजधानीसमेत मानिन्छ, जहाँ गोपाल, किराँत र लिच्छविकालीन शासनको केन्द्रसमेत रहेको उल्लेख पाइन्छ।