काठमाडौँ
धनुषामा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक युवकको शव फेला परेको छ। जिल्लाको गणेशमान चारनाथ नगरपालिका–५ टोडकीटोलस्थित कमल खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका १८ वर्षीय युवकको शव आइतबार बिहान फेला परेको हो।
जनकपुर उपमहानगरपालिका–६ का १८ वर्षीय महमद आयन कमड चैत २८ गते खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए। घटनालगत्तै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस रघुनाथपुर र प्रहरी चौकी चिसापानीको टोलीले खोजी कार्य सुरु गरेको थियो।
प्रारम्भिक खोजीमा युवक फेला नपरेपछि सशस्त्र प्रहरीको गोताखोर टोली परिचालन गरिएको थियो। गोताखोर टोलीले आइतबार बिहान घटनास्थलबाट करिब ४० मिटर तल र झन्डै ४० मिटर गहिराइमा युवकको शव फेला पारेको सशस्त्र प्रहरीले जनाएको छ।
शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि पठाइएको प्रहरीले जनाएको छ।