काठमाडौँ
औषधिको मूल्यवृद्धि भएको विषयमा छानबिन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिइएको छ। सोही क्रममा औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाललाई मन्त्रालयमा तानिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय को निर्देशनपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ढकाललाई बिहीबार राति मन्त्रालयमा तानेको हो। औषधिको मूल्य निर्धारण प्रक्रियामा अनियमितता भएको आरोपपछि यो कदम चालिएको बताइएको छ।
यसैबीच, प्रधानमन्त्री कार्यालयले औषधि मूल्यवृद्धिको विषयमा विस्तृत छानबिन गर्न तीन सदस्यीय विज्ञ समिति गठन गर्न स्वास्थ्य सचिवलाई निर्देशन दिएको छ। समितिलाई औषधि मूल्य निर्धारण प्रक्रिया, सम्भावित अनियमितता र संलग्न व्यक्तिहरूको पहिचान गरी प्रतिवेदन तयार गर्न भनिएको छ।
निर्देशनअनुसार सात दिनभित्र प्रतिवेदन पेस गर्नुपर्नेछ। प्रधानमन्त्री कार्यालयले औषधिको मूल्यवृद्धि कसरी भयो, मूल्य निर्धारण प्रक्रिया के–के हुन् र अनियमिततामा को–को संलग्न छन् भन्ने स्पष्ट रूपमा खुलाएर प्रतिवेदन बुझाउन भनेको छ।
यसअघि प्रतिनिधिसभा बैठकमा समेत औषधिको अनियमित मूल्यवृद्धिबारे प्रश्न उठाइएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजीव खत्रीले महालेखा परीक्षकको प्रतिवेदनलाई आधार बनाउँदै औषधि व्यवस्थापनमा गम्भीर अनियमितता भएको र ठूलो आर्थिक अनियमितता हुनसक्ने आशंका व्यक्त गरेका थिए।