काठमाडौँ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले वैदेशिक ऋणका विषयमा सरकारको आधिकारिक र स्पष्ट धारणा सार्वजनिक गर्न माग गरेका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै उनले दिगो पूर्वाधार विकासका लागि विदेशी ऋण नेपालको आवश्यकता भए पनि सरकारको वर्तमान कार्यशैली विरोधाभासपूर्ण रहेको टिप्पणी गरे।
महासचिव पोखरेलले विगतमा विदेशी ऋणले देश डुब्ने भन्दै चर्को आलोचना गर्नेहरू नै अहिले सत्तामा पुगेर ठूलो मात्रामा ऋण लिइरहेको भन्दै प्रश्न उठाएका छन्। उनले सरकारले आफ्ना नीति, कार्यक्रम र प्राथमिकताहरू संसद्मा स्पष्ट रूपमा प्रस्तुत नगरी ऋण लिनुलाई गम्भीर विषयका रूपमा चित्रण गरेका छन्।
"हिजो विदेशी ऋणको विरोध गर्नेहरू आज किन स्वीकार गरिरहेका छन्? सरकारले यसबारे जनतालाई स्पष्ट र पारदर्शी जवाफ दिनुपर्छ," पोखरेलले लेखेका छन्। उनले ऋण लिने प्रक्रियामा पारदर्शिता र राष्ट्रिय प्राथमिकताको सुनिश्चितता हुनुपर्नेमा जोड दिएका छन्।