काठमाडौँ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतहरूको अनुपस्थितिका कारण सेवा प्रवाहमा बाधा पुगेको भन्दै कडा कारबाहीको चेतावनी दिएको छ।
मन्त्रालयले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै विभिन्न स्थानीय तहमा खटाइएका प्रमुख प्रशासकीय अधिकृत तथा अन्य कर्मचारीहरू नियमित रूपमा कार्यालयमा उपस्थित नभएको व्यापक गुनासो आएको जनाएको छ। कर्मचारीहरूको यस्तो गैरजिम्मेवारपनले सर्वसाधारणले पाउने सेवामा प्रत्यक्ष असर परेको मन्त्रालयको ठहर छ।
सूचनामार्फत मन्त्रालयले सबै प्रमुख प्रशासकीय अधिकृतहरूलाई आ-आफ्नो कार्यक्षेत्रमा अनिवार्य रूपमा उपस्थित भई नियमित कामकाज सम्पादन गर्न निर्देशन दिएको छ। "खटाइएका कर्मचारीहरू कार्यालयमा उपस्थित नभई सेवा प्रवाह प्रभावित भएको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही गरिनेछ," मन्त्रालयले चेतावनी दिएको छ।
मन्त्रालयले सबै कर्मचारीहरूलाई आफ्नो पदीय जिम्मेवारीप्रति उत्तरदायी बन्न र जनताको सेवालाई प्राथमिकतामा राखेर कार्यसम्पादन गर्न समेत आग्रह गरेको छ।
