काठमाडौँ
नेपाल बार एसोसिएसनका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता विजयप्रसाद मिश्र ले पूर्वप्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न जारी गरिएको जरुरी पक्राउ पुर्जीको आधार नदेखिएको जिकिर गरेका छन्।
सर्वोच्च अदालतमा ओलीको बन्दी प्रत्यक्षीकरण निवेदनमाथिको सुनुवाइका क्रममा बहस गर्दै मिश्रले दुवै नेता सुरक्षा घेरामा रहने भएकाले उनीहरू भाग्ने अवस्था नरहेको बताएका छन्। उनले ओली मिर्गौलाको बिरामी भई अस्वस्थ अवस्थामा रहेकाले पनि फरार हुने सम्भावना नदेखिएको दाबी गरे।
मिश्रले सरकारद्वारा जरुरी पक्राउ पुर्जीको दुरुपयोग गरिएको आरोपसमेत लगाएका छन्। उनले यो विषय अत्यन्त संवेदनशील भएको भन्दै सरकारको पूर्वाग्रह स्पष्ट देखिएको टिप्पणी गरे।
यसअघि बहस गर्दै वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले मन्त्रिपरिषद्ले निर्णय गरेर कसैलाई पनि पक्राउ गर्न नमिल्ने जिकिर गरेका थिए। त्यस्तै, पूर्वमहान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता रमेश बडालले पनि ओलीलाई हाजिर जमानीमा रिहा गर्नुपर्ने सुझाव दिएका थिए।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा अनुसन्धानका लागि ओलीलाई पक्राउ गरिएको हो। जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा उनलाई पक्राउ गरिएको बताइए पनि उक्त प्रक्रिया गैरकानुनी भएको दाबी गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण निवेदन दायर गरिएको छ।