काठमाडौँ
नवनियुक्त अर्थमन्त्री डा स्वर्णिम वाग्ले ले पदभार ग्रहण गर्नुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष शपथ लिएपछि उहाँ आज अर्थ मन्त्रालय पुगेर औपचारिक रूपमा जिम्मेवारी सम्हाल्नुभएको हो।
पदभार ग्रहण गर्दै अर्थमन्त्री वाग्लेले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग, २०८१ का महत्त्वपूर्ण सुझाव कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभयो। आयोगको सिफारिसअनुसार राजस्व अनुसन्धान विभाग खारेज गर्ने तथा विभिन्न १५ वटा ऐन खारेज वा संशोधन प्रक्रिया अघि बढाइने उहाँले जानकारी दिनुभयो।
उहाँले चैत ११, २०८२ सम्मको ‘आर्थिक स्थितिपत्र’ पाँच दिनभित्र तयार पारिने र सरकारको निर्वाचन वाचापत्र कार्यान्वयनका लागि १०० दिने, अर्धवार्षिक तथा वार्षिक कार्ययोजना बनाइने बताउनुभयो। वाचापत्रलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै सरकार अघि बढ्ने उहाँको भनाइ छ।
अर्थमन्त्री वाग्लेले निजी क्षेत्रको सुरक्षा र प्रवर्द्धन, ठूला विकास आयोजनाको सहजीकरण तथा प्रक्रियागत झन्झट हटाउन नयाँ विधेयक तर्जुमा र विद्यमान कानुन संशोधनलाई प्राथमिकता दिइने बताउनुभयो। “ठूला आयोजना छिटो अघि बढ्ने वातावरण बनाइनेछ,” उहाँले उल्लेख गर्नुभयो।
उहाँले अर्थतन्त्रका समस्या समग्र रूपमा समाधान गर्ने नीति लिइने स्पष्ट पार्दै तजबिजी अधिकार हटाएर प्रणालीगत सुधार गरिने बताउनुभयो। सार्वजनिक खर्च पुनरावलोकन आयोगको सिफारिस कार्यान्वयन, आन्तरिक उत्पादन वृद्धि, रोजगारी सिर्जना र रुपान्तरणकारी बजेट निर्माणलाई प्राथमिकतामा राखिने उहाँले जानकारी दिनुभयो।
विद्युतीय शासन प्रणाली प्रवर्द्धन गर्दै ‘पेपरलेस’ र ‘क्यासलेस’ प्रणालीतर्फ अघि बढ्ने प्रयास अर्थ मन्त्रालयबाटै सुरु गरिने उहाँको भनाइ छ। साथै, अन्तरराष्ट्रिय परिस्थिति विशेषगरी मध्यपूर्व क्षेत्रमा देखिएका समस्याको सूक्ष्म विश्लेषण गर्दै अन्तर–निकाय समन्वयमार्फत त्यसको प्रभाव व्यवस्थापन गरिने उहाँले बताउनुभयो।
अर्थमन्त्री वाग्लेले ऐतिहासिक जनादेश प्राप्त वर्तमान सरकारले निजी क्षेत्रमैत्री नीति अवलम्बन गर्दै आर्थिक तथा कानुनी सुधारको व्यापक मार्गचित्र अघि बढाउने उल्लेख गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापतिसमेत रहनुभएका उहाँ आर्थिक नीति निर्माणमा अनुभवी तथा अन्तरराष्ट्रिय पहिचान बनाएका व्यक्तिका रूपमा परिचित हुनुहुन्छ।
तनहुँ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित वाग्लेले २०८२ को निर्वाचनमा ३८ हजारभन्दा बढी मत प्राप्त गर्दै विजय हासिल गर्नुभएको थियो। विसं २०३१ जेठ १६ गते गोरखामा जन्मनुभएका उहाँ २०४६ सालको जनआन्दोलनदेखि लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहँदै आउनुभएको छ।
अन्तरराष्ट्रिय अनुभवका हिसाबले उहाँले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम मा प्रमुख आर्थिक सल्लाहकार तथा विश्व बैंक मा वरिष्ठ अर्थशास्त्रीका रूपमा काम गरिसक्नुभएको छ। साथै, राष्ट्रिय योजना आयोगमा सदस्य र उपाध्यक्षका रूपमा कार्य गर्दै राष्ट्रिय विकास रणनीति निर्माणमा योगदान दिनुभएको छ।
शैक्षिक रूपमा पनि उहाँ सशक्त पृष्ठभूमि भएका व्यक्ति हुनुहुन्छ। लण्डन स्कुल अफ इकोनोमिक्स बाट स्नातक, हार्वर्ड विश्वविद्यालय बाट स्नातकोत्तर तथा अष्ट्रेलियन नेसनल विश्वविद्यालय बाट विद्यावारिधि हासिल गर्नुभएको छ।
नेपालको सुस्त आर्थिक वृद्धि, घट्दो राजस्व सङ्कलन र बढ्दो सार्वजनिक ऋणजस्ता चुनौतीबीच अर्थमन्त्रीका रूपमा उहाँको नियुक्ति भएको हो। यस्तो अवस्थामा आर्थिक स्थायित्व कायम गर्दै रोजगारी सिर्जना, लगानी वृद्धि र निजी क्षेत्रको मनोबल पुनःस्थापना गर्न उहाँमाथि ठूलो अपेक्षा गरिएको छ।