काठमाडौँ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले गौरीबहादुर कार्की आयोगको प्रतिवेदनप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै यसको निष्पक्षतामाथि प्रश्न उठाएका छन्। भदौ २३ र २४ का घटनाबारे छानबिन गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक भएपछि प्रतिक्रिया दिँदै पोखरेलले आयोग निष्पक्ष छानबिनका लागि नभई निश्चित धारणा स्थापित गर्न बनेको दाबी गरे।
महासचिव पोखरेलले आयोगको प्रतिवेदन र २०८२ को आम निर्वाचन दुवैलाई 'अल्गोरिदममार्फत नेपाली समाजमा परेको प्रभावलाई राजनीतिक र कानुनी वैधानिकता दिने प्रयास' का रूपमा व्याख्या गरेका छन्। उनले लोकप्रियतावाद, अराजकतावाद र अवसरवादको मिश्रणबाट नयाँ शक्तिको उदय भएको टिप्पणी गर्दै आगामी दिन राष्ट्र र लोकतन्त्रका लागि चुनौतीपूर्ण हुने चेतावनी दिएका छन्। उनले अबका दिनहरू सहज नहुने र नेपाली राजनीतिले नयाँ तर कठिन मोड लिएको समेत उल्लेख गरे।