काठमाडौँ। मध्यपूर्वमा अमेरिका,इजरायल र इरानबीचको युद्ध १९ औँ दिनमा प्रवेश गर्दा संयुक्त संयुक्त अरब इमिरेट्स (युएई) को परराष्ट्र मन्त्रालय ले इरानी आक्रमणको प्रतिकार र देशको वर्तमान अवस्थाबारे विस्तृत प्रतिवेदन सार्वजनिक गरेको छ। सन् २०२६ मार्च ३ मा इरानले मध्यपूर्वका आर्थिक लक्ष्य र अमेरिकी मिसनहरूमा आक्रमण तीव्र पारेपछि युएईले आफ्नो प्रतिरक्षा प्रणाली र आर्थिक स्थिरताको तथ्याङ्क बाहिर ल्याएको हो।
२,००० भन्दा बढी क्षेप्यास्त्र र ड्रोन विफल
युएईको परराष्ट्र मन्त्रालयका अनुसार इरानले प्रहार गरेका २,००१ भन्दा बढी क्षेप्यास्त्र र ड्रोनहरूलाई युएईको अत्याधुनिक हवाई प्रतिरक्षा प्रणालीले सफलतापूर्वक बीचमै नष्ट गरिदिएको छ। मन्त्रालयले भनेको छ, "हाम्रो बहुआयामिक हवाई सुरक्षा प्रणालीले नागरिक र २०० भन्दा बढी देशका बासिन्दाहरूको सुरक्षा गरिरहेको छ। युद्धका बावजुद युएईमा जनजीवन सामान्य छ, व्यापार व्यवसायहरू खुला छन् र पर्यटन क्षेत्र सुरक्षित रूपमा सञ्चालन भइरहेको छ।"
सैन्य तयारी र कूटनीतिक पहल
युएईले लामो, मध्यम र छोटो दूरीका एकीकृत रक्षा प्रणालीमार्फत आफ्नो आकाश सुरक्षित राखेको र भविष्यका चुनौतीका लागि पर्याप्त सैन्य भण्डारण रहेको स्पष्ट पारेको छ।
कूटनीतिक रूपमा, युएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नह्यानले विश्वका नेताहरूसँग १०० भन्दा बढी पटक टेलिफोन वार्ता गर्नुभएको छ। त्यस्तै, संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्ले मार्च ११ मा इरानी आक्रमणको कडा निन्दा गर्दै 'प्रस्ताव २८१७' पारित गरेको छ, जसलाई १३६ देशले समर्थन गरेका छन्। उक्त प्रस्तावले इरानलाई तत्काल आक्रमण रोक्न र क्षतिपूर्तिका लागि जिम्मेवार हुन माग गरेको छ।
युद्धका बीच पनि अर्थतन्त्र र पर्यटन स्थिर
क्षेत्रीय तनावका बावजुद युएईको अर्थतन्त्रमा कुनै विचलन नआएको प्रतिवेदनले देखाएको छ।
मुख्य आर्थिक सूचकहरू यस प्रकार छन्:
गैर-तेल क्षेत्र: गार्हस्थ उत्पादन मा ७५% योगदान।
सार्वभौम कोष २.४९ ट्रिलियन डलर सम्पत्ति सहित विश्वकै तेस्रो ठूलो स्थानमा।
बैंकिङ क्षेत्र: कुल सम्पत्ति ५.४२ ट्रिलियन दिराम।
क्रेडिट रेटिङ: एस एन्ड पी ग्लोबलले युएईलाई 'AA/A-1+' को स्थिर रेटिङ दिएको छ।
पर्यटकलाई विशेष सुविधा
युएईका १,२६० होटलहरू सामान्य रूपमा सञ्चालनमा छन्। उडान स्थगित भएका कारण विमानस्थलमा अलपत्र परेका यात्रुहरूको आवास र खानाको खर्च युएई सरकारले नै बेहोरेको छ। मार्च १ देखि १२ सम्म मात्रै युएईका विमानस्थलहरूबाट १४ लाखभन्दा बढी यात्रुले यात्रा गरेका छन्, जसले सुरक्षा व्यवस्थामाथिको विश्वव्यापी विश्वासलाई दर्शाउँछ।
युएई सरकारले आफ्नो सार्वभौमसत्ता र सुरक्षामा हुने कुनै पनि सम्झौता स्वीकार्य नहुने र नागरिकको रक्षाका लागि निर्णायक कदम चाल्न तयार रहेको प्रतिबद्धता दोहोर्याएको छ।खलेज टाइमसको सहयागमा