काठमाडौँ।
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का वरिष्ठ नेता तथा झापा–५ का उम्मेदवार बालेन्द्र शाह (बालेन) लाई लिएर झापाका लागि उडेको हेलिकोप्टर बीच बाटोबाटै काठमाडौं फर्किएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको ५ मिनेटमै हेलिकोप्टर पुनः काठमाडौंमा अवतरण भएको हो।
आज बिहान काठमाडौं–२ को सिनामंगलस्थित मतदान केन्द्रबाट मतदान गरेपछि बालेन आफ्नो निर्वाचन क्षेत्र झापा–५ जानका लागि हेलिकोप्टर चढेका थिए। नागरिक उड्डयन प्राधिकरणका अनुसार बालेन सवार हेलिकोप्टर बिहान १०:१० बजे काठमाडौंमा अवतरण भएको छ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले हेलिकोप्टर कुनै प्राविधिक समस्या वा प्राधिकरणको निर्देशनका कारण नभई आफैं फर्किएको जानकारी दिए। उनले भने, "उहाँहरू आफैं फर्किनुभएको हो, फेरि जान चाहनुभयो भने कुनै रोकतोक छैन।"
आजै अन्य शीर्ष नेताहरूगगन थापा र पुष्पकमल दाहाल 'प्रचण्ड' भने हेलिकोप्टरमार्फत आ–आफ्नो निर्वाचन क्षेत्र पुगिसकेका छन्। बालेनको हेलिकोप्टर किन फर्कियो भन्नेबारे उनको सचिवालयले थप जानकारी दिएको छैन।