काठमाडौँ।
नेपाली काँग्रेसका पूर्व उपसभापति पूर्ण बहादुर खड्काले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा कांग्रेसका उम्मेदवारहरूलाई विजयी गराउन आम मतदातालाई आह्वान गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत एक सन्देश जारी गर्दै नेता खड्काले कर्णाली प्रदेशसहित सातै प्रदेशका मतदाताहरूलाई कांग्रेसको पक्षमा मतदान गर्न आग्रह गरेका हुन्। उनले फागुन २१ गते बिहान ७ बजेदेखि सुरु हुने मतदानमा सहभागी भई प्रत्यक्ष र समानुपातिक दुवैतर्फको मतपत्रमा कांग्रेसको ऐतिहासिक चुनाव चिह्न ‘रुख’ मा स्वस्तिक छाप लगाई पार्टीलाई भारी बहुमतले जिताउन अपिल गरेका छन्।
निर्वाचनको मिति नजिकिँदै गर्दा नेता खड्काले देशको विकास र समृद्धिका लागि कांग्रेसको नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै आफ्नो अमूल्य मतको सही सदुपयोग गर्न मतदाताहरूसँग विशेष अनुरोध गरेका हुन्।