काठमाडौँ।
नेपाली काँग्रेसका प्रवक्ता देवराज चालिसेले ठगी र भ्रष्टाचारका गम्भीर अभियोग लागेका नेताहरूले आफ्नो वास्तविक चरित्र लुकाएर जनतालाई भ्रमित पारिरहेको आरोप लगाएका छन्। सामाजिक सञ्जालमार्फत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेप्रति लक्षित गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्।
प्रवक्ता चालिसेले ठगीका नाइकेहरूले नै सुशासन र स्वच्छ राजनीतिको कुरा गर्नु 'दिउँसै रात पार्न खोज्नु' जस्तै भएको बताए। उनले नयाँ भनिएका दल र तिनका नेताहरूले जङ्गलमा शत्रुबाट बच्न 'हरियो पोसाक' लगाएर लुके जस्तै राजनीतिमा पनि आफ्नो असली मुहार लुकाएर आकर्षक रङ पोत्ने चतुर रणनीति अपनाएको दाबी गरे।
"छर्लङ्गै देखिएका ठगी र भ्रष्टाचारका अभियोगहरूको पोको बोकेर पनि उनीहरू सदाचारको भाषण दिन्छन्," चालिसेले लेखेका छन्। उनले जनतालाई झूटो आश्वासन दिँदै सत्य लुकाउने यस्तो प्रवृत्तिले नागरिकलाई वास्तविक तथ्य पत्ता लगाउन झन् कठिन बनाइदिएको उल्लेख गरेका छन्। नयाँ शक्ति भनिएकाहरू यस कलामा अत्यन्तै निपुण देखिएको उनको तर्क छ।