नेपाली काँग्रेसका सभापति गगन थापा सर्लाहीको पाँचदिने दौडाहापछि काठमाडौं फर्किएका छन्। आफ्नो निर्वाचन क्षेत्र सर्लाही – ४ मा रहँदै उनले नेता, कार्यकर्ता र स्थानीय मतदातासँग प्रत्यक्ष संवाद र भेटघाट गरेका थिए ।
१२ माघमा सर्लाही पुगेका सभापति थापा घरदैलो कार्यक्रम, छलफल र अन्तरक्रियामा सक्रिय रहे। यस क्रममा पार्टी संगठन सुदृढीकरणसँगै स्थानीय जनताका समस्या, गुनासा र अपेक्षालाई नजिकबाट बुझ्न आफू केन्द्रित रहेको उनले बताएका छन्।
सर्लाही आगमनका बेला पार्टीका नेता तथा कार्यकर्ताले उनलाई भव्य स्वागत गरेका थिए। भावी प्रधानमन्त्रीका रूपमा समेत चर्चामा रहेका थापाले सर्लाही – ४ को विकास र समृद्धिका लागि आफ्नो भूमिका प्रभावकारी हुने प्रतिबद्धता जनाए।
सर्लाही छोड्नुअघि सञ्चारकर्मीसँग बोल्दै सभापति थापाले भने, ‘यहाँ आइपुग्दा द्विविधा थियो, तर फर्किँदा भरोसा बोकेर जाँदैछु। जनताको माया र विश्वासले थप जिम्मेवारीको अनुभूति गराएको छ।’
सभापति थापा जनकपुर विमानस्थल हुँदै काठमाडौं फर्किएका हुन्। काठमाडौं प्रस्थानअघि उनले जनकपुरस्थित नेपाली कांग्रेसको प्रदेश कार्यालयमा पार्टी नेता तथा कार्यकर्तासँग भेटघाट गरे।






