काठमाडौँ ।
बंगलादेशको अन्तर्राष्ट्रिय अपराध ट्राइबुनल (आईसीटी) ले गत जुलाईमा भएको विद्यार्थी आन्दोलनका क्रममा मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै तीन वरिष्ठ प्रहरी अधिकारीलाई मृत्युदण्डको सजाय सुनाएको छ ।
सजाय पाउनेमा ढाकाका तत्कालीन प्रहरी कमिस्नर हबिबुर रहमान, सह–कमिस्नर सुदिप कुमार चक्रवर्ती र उप–कमिस्नर शाह आलम मोहम्मद रहेका छन् । फैसला सुनाइँदा तीनै जना फरार थिए । यही मुद्दामा अन्य पाँच प्रहरी अधिकारीलाई जेल सजाय सुनाइएको छ ।
गत जुलाई–अगस्टमा कोटा प्रणालीविरुद्ध भएको विद्यार्थी आन्दोलनमा प्रहरी दमनबाट करिब १,४०० जनाको मृत्यु भएको थियो । आन्दोलनकै कारण तत्कालीन प्रधानमन्त्री शेख हसिना देश छाड्न बाध्य भएकी थिइन् ।
हसिनाको बहिर्गमनपछि बनेको मुहम्मद युनुस नेतृत्वको अन्तरिम सरकारले आन्दोलनका क्रममा भएका दमन र मानवअधिकार उल्लंघनका घटनाहरूको छानबिन गर्न आईसीटीलाई सक्रिय बनाएको थियो । यो फैसला आगामी फेब्रुअरीमा हुने चुनावअघि आएको हो ।