काठमाडौँ।
आज माघ १ गते, देशभर स्नान, जप, तप, ध्यान र दान गरी माघे (मकर) सङ्क्रान्ति पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिन भएकाले यसलाई मकर सङ्क्रान्ति भनिएको हो ।
आजैदेखि सूर्य उत्तरायण लाग्ने र दिन लामो तथा रात छोटा हुँदै जाने विश्वास गरिन्छ । उत्तरायण सुरु हुने आजको दिनलाई पुण्यदायक मानिने भएकाले बिहानैदेखि देवघाट, त्रिवेणी, रिडी, दोलालघाट लगायतका नदी तथा त्रिवेणीहरूमा स्नान गर्ने भक्तजनको घुइँचो लागेको छ ।
माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, खिचडी आदि खाने परम्परा छ । जाडो मौसममा यी परिकारले शरीरलाई न्यानो र ऊर्जा प्रदान गर्ने आयुर्वेदिक मान्यता छ ।
आजको दिन तिलको तेलले शरीर मालिस गर्ने र तिल दान गर्नाले पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । महाभारतमा इच्छा मृत्युको वरदान पाएका भीष्मले सूर्य उत्तरायण लागेपछि मात्रै शरीर त्यागेको पौराणिक कथन छ ।
यसै अवसरमा सरकारले आज राष्ट्रिय कृषि जैविक विविधता दिवस पनि मनाउँदैछ । गत वर्षदेखि कन्दमूल जस्ता रैथाने बालीको प्रवर्द्धन गर्न यो दिवस मनाउन थालिएको हो ।