काठमाडौँ।
सामाजिक अभियन्ता आशिका तामाङले ऊर्जामन्त्री कुलमान घिसिङमाथि नातावादको आरोप लगाउँदै कडा कटाक्ष गरेकी छन्। घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीको समानुपातिक सूचीमा आफ्नै नातेदारहरूको नाम राखेको र फिर्ता लिने आश्वासन दिएर पनि कार्यान्वयन नगरेको भन्दै तामाङले सामाजिक सञ्जालमार्फत प्रश्न उठाएकी हुन्।
उनले सामाजिक सञ्जालमा लेखेकी छन्, "भनेपछि ससुरा बा र भान्जाले नाम फिर्ता लिन मानेनन्? आफ्नै रगतको भाइको ससुरा आफ्नै ससुरा हो कि होइन? अनि नाताले आफ्नो भान्जा पर्ने आफ्नो नातेदार हो कि होइन?"
यसअघि उज्यालो नेपालको समानुपातिक सूचीमा भान्जादेखि ससुरासम्मको नाम राखेको भन्दै घिसिङको चौतर्फी विरोध भएको थियो। विरोधपछि उनले ती नामहरू फिर्ता लिने प्रतिबद्धता जनाएका थिए। तर, हालसम्म पनि नाम फिर्ता नभएपछि अभियन्ता तामाङले घिसिङको नियतमाथि प्रश्न उठाएकी हुन्। उज्यालो नेपाल पार्टी हालै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग चुनावी तालमेल र समायोजनको प्रक्रियामा रहेको छ।