काठमाडौँ
रूसले रातभर गरेको ठूलो हवाई आक्रमणपछि युक्रेनको राजधानी कीएभका करिब एक तिहाइ बासिन्दा विद्युत् आपूर्तिबाट वञ्चित भएका छन्। युक्रेनका विदेशमन्त्री आन्द्रि सिबिहाका अनुसार आवासीय क्षेत्र र महत्वपूर्ण पूर्वाधार लक्षित बमबारीका कारण चिसो जाडोमा धेरै घरमा तातोपानी र तताउने सुविधा बन्द भएको छ। कीएभका मेयर भिताली क्लिच्कोले आक्रमणमा कम्तीमा एक जनाको मृत्यु र ३० जना घाइते भएको जानकारी दिएका छन्।
रुसको रक्षा मन्त्रालयले युक्रेनको ऊर्जा पूर्वाधारमाथि “ठूलो प्रतिशोधात्मक आक्रमण” गरेको दाबी गरेको छ। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने रुसले करिब ५०० ड्रोन र ४० वटा मिसाइल प्रयोग गरी ऊर्जा तथा नागरिक संरचनालाई निशाना बनाएको बताएका छन्। आक्रमणका कारण अपार्टमेन्ट भवनमा ठूलो क्षति पुगेको, घरहरूमा आगलागी भएको र एक वृद्धाश्रमबाट ६८ जनालाई सुरक्षित स्थानमा सारिएको युक्रेनी आपतकालीन सेवाले जनाएको छ।
आक्रमण युक्रेनी राष्ट्रपति जेलेन्स्की शान्ति वार्ताका लागि अमेरिका प्रस्थान गर्नु केही घण्टा अघिमात्र भएको हो। उनले रुस युद्ध अन्त्य गर्न नचाहेको आरोप लगाउँदै संयुक्त राज्य अमेरिका र युरोपेली साझेदारलाई कडा कदम चाल्न आग्रह गरेका छन्। यसैबीच, युक्रेन–रुस युद्धको प्रभाव सीमावर्ती देश पोल्यान्डसम्म पुगेपछि पोल्यान्डले आफ्नो हवाई सुरक्षा सतर्कता बढाएको छ। युरोपेली नेताहरू र युक्रेनी नेतृत्वबीच शान्ति प्रक्रियाबारे छलफल जारी रहने जनाइएको छ।