काठमाडौँ
संयुक्त राज्य अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए) ले तौल घटाउने औषधि वेगोभीको ट्याब्लेट संस्करणलाई अनुमोदन गरेको छ। डेनमार्कको औषधि कम्पनी नोभो नोरडिस्कले उत्पादन गर्ने यस औषधि पहिलो पटक यस्तो स्वरुपमा एफडीएबाट स्वीकृत भएको हो। यसले तौल घटाउने औषधिहरूमा नयाँ युग सुरु भएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार, दैनिक एकपटक सेवन गर्न सकिने यस ट्याब्लेटले सुई मारेर दिने संस्करण जस्तै तौल घटाउने प्रभाव दिनेछ। कम्पनीले परीक्षणमा औसत १६.६ प्रतिशत तौल घटाउने परिणाम देखिएको र लगभग १,३०० सहभागीमध्ये एक तिहाइले २० प्रतिशत वा सोभन्दा बढी तौल घटाएका बताएका छन्। ट्याब्लेट जनवरी २०२६ को सुरुवातमा अमेरिकी बजारमा उपलब्ध हुने अपेक्षा गरिएको छ।
नोभो नोरडिस्कका प्रमुख कार्यकारी अधिकारी माइक डौस्टडरले भने, “रोगीहरूले अब सहज र दैनिक सेवन गर्न मिल्ने ट्याब्लेटमार्फत सुई जत्तिकै तौल घटाउन सक्नेछन्।” यस नयाँ संस्करणको अनुमोदनपछि कम्पनीको शेयर मूल्य न्यूयोर्कमा लगभग १० प्रतिशतले बढेको छ। यसले बजारमा प्रतिस्पर्धात्मक दबाबको सामना गरिरहेका एली लिली जस्ता प्रतिद्वन्द्वीहरूसँगको प्रतिस्पर्धामा कम्पनीलाई लाभ पुग्ने अपेक्षा गरिएको छ।