काठमाडौँ ।
चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा पूर्वी नाका काँकरभिट्टाबाट हुने आयात बढेको छ भने निर्यात घटेको छ । मेची भन्सार कार्यालयको तथ्याङ्कअनुसार, मंसिर मसान्तसम्ममा २० अर्ब १४ करोड रुपैयाँभन्दा बढीको वस्तु आयात भएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ७.५७ प्रतिशतले बढी हो ।
यसै अवधिमा निर्यात भने ६.६५ प्रतिशतले घटेको छ । कार्यालयका अनुसार, यो अवधिमा १० अर्ब ७१ करोड रुपैयाँ बराबरको सामान मात्रै निर्यात भएको छ । गत वर्ष सोही अवधिमा ११ अर्ब ४७ करोडको वस्तु निर्यात भएको थियो ।
यो नाकाबाट अलैँची, चिया, प्लाइउड, छुर्पी, अम्रिसो जस्ता वस्तुहरू मुख्य रूपमा निर्यात हुन्छन् भने पेट्रोलियम पदार्थ, तयारी कपडा, तरकारी, सवारी साधन र सिमेन्ट क्लिङ्कर जस्ता वस्तुहरू आयात हुने गरेका छन् ।
भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा आयात-निर्यातबाट ६ अर्ब ८२ करोड रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ ।