काठमाडौँ ।
ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले भेनेजुएलामा अमेरिकी सैन्य हस्तक्षेप भएमा त्यसले अकल्पनीय ‘मानवीय विपत्ति’ निम्त्याउने चेतावनी दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड जोन ट्रम्पले भेनेजुएलाविरुद्ध युद्धको सम्भावनालाई अस्वीकार नगरेपछि लुलाको यस्तो टिप्पणी आएको हो ।
राष्ट्रपति लुलाले दक्षिण अमेरिकी महाद्वीपमा पुनः विदेशी शक्तिको उपस्थिति बढेकोमा चिन्ता व्यक्त गर्दै भने, "भेनेजुएलामा सशस्त्र हस्तक्षेप यो गोलार्धका लागि मानवीय विपत्ति र विश्वका लागि खतरनाक नजिर हुनेछ ।"
हालैका महिनाहरूमा अमेरिकाले क्यारिबियन क्षेत्रमा आफ्नो सैन्य उपस्थिति बढाउँदै लागुऔषध डुङ्गाको नाममा हवाई आक्रमण गरिरहेको छ, जसमा १०४ जनाको मृत्यु भइसकेको छ । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले यसलाई आफ्नो सरकार ढाल्ने प्रयासको संज्ञा दिएका छन् ।
ब्राजिलको ढोकामा बढ्दो संकटप्रति आफू निकै चिन्तित रहेको बताउँदै राष्ट्रपति लुलाले सशस्त्र द्वन्द्व रोक्न मध्यस्थता गर्न तयार रहेको बताएका छन् । "गोली हानेर समस्या समाधान हुँदैन, वार्तामा बस्नु नै उत्तम विकल्प हो," उनले भने ।