काठमाडौँ
इटालीको राजधानी रोममा रहेको विश्वप्रसिद्ध ट्रेभी फाउन्टेन नजिकबाट हेर्न चाहने पर्यटकहरूले अब २ युरो शुल्क तिर्नुपर्ने भएको छ। रोम नगरपालिकाका अनुसार यो नयाँ व्यवस्था सन् २०२६ फेब्रुअरी १ देखि लागू हुनेछ। पर्यटकको अत्यधिक भीड नियन्त्रण र स्मारकको संरक्षणका लागि शुल्क प्रणाली लागू गर्न लागिएको हो।
फाउन्टेनमा खसालिने सिक्काबाट उठेको रकम दानमा जाने भए पनि प्रवेश शुल्कबाट संकलित रकम भने ट्रेभी फाउन्टेनको संरक्षण, व्यवस्थापन र पर्यटक प्रवाह नियन्त्रणका लागि प्रयोग गरिनेछ। नगरपालिकाले यसबाट वार्षिक करिब ६.५ मिलियन युरो आम्दानी हुने अपेक्षा गरेको छ। रोमका मेयर रोबर्टो गुअल्तियेरीले दुई युरो शुल्क धेरै नहुने र यसले पर्यटक आवागमन व्यवस्थित बनाउन मद्दत गर्ने बताएका छन्।
यो शुल्क रोममा लागू हुन लागेको नयाँ सांस्कृतिक तथा पर्यटकीय शुल्क प्रणालीको हिस्सा हो। यसअन्तर्गत केही संग्रहालय र ऐतिहासिक स्थलहरू रोमका स्थानीय बासिन्दाका लागि निःशुल्क बनाइनेछ भने पर्यटक र गैर–स्थानीयले ट्रेभी फाउन्टेनसहित अन्य पाँच आकर्षण हेर्न शुल्क तिर्नुपर्नेछ। पाँच वर्ष मुनिका बालबालिका तथा अपांगता भएका व्यक्ति र उनीहरूका सहायकलाई भने शुल्क छुट दिइनेछ।
उल्लेखनीय छ, ट्रेभी फाउन्टेनलाई टाढाबाट निःशुल्क अवलोकन गर्न भने पर्यटकले सक्नेछन्। १८औँ शताब्दीमा निर्माण गरिएको यो फाउन्टेनमा दैनिक औसत ३० हजार पर्यटक पुग्ने गर्छन्। भीड नियन्त्रणका लागि एकै समयमा अधिकतम ४ सय जनालाई मात्र नजिक जान दिने व्यवस्था पहिल्यै लागू गरिएको छ।