काठमाडौँ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि सम्पन्न भएको मतदानको मतगणना आज बिहान ८ बजेदेखि सुरु हुँदैछ । महाधिवेशन स्थल भृकुटीमण्डपमा बुधबार सम्पन्न मतदानमा कुल २,२२७ मत खसेको छ ।
केन्द्रीय निर्वाचन आयोगका अनुसार, कुल २,२६३ महाधिवेशन प्रतिनिधिमध्ये ३६ जना मतदानमा अनुपस्थित रहे । बुधबार बिहान ९:१२ बजेदेखि सुरु भएको मतदान प्रक्रिया राति सम्पन्न भएको थियो ।
आयोगका उपाध्यक्ष सानुराज पोखरेलले मतगणना सुरु गर्नुअघि आवश्यक प्रक्रिया पूरा गर्न केही समय लाग्ने भए पनि गणना सुरु भएको करिब तीन घण्टाभित्र प्रारम्भिक परिणाम सार्वजनिक हुने जानकारी दिए ।
एमालेको ३०१ सदस्यीय केन्द्रीय कमिटीका लागि करिब ६४२ जना उम्मेदवार चुनावी मैदानमा छन् । मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिएको थियो, जसले गर्दा मतगणना छिटो हुने अपेक्षा गरिएको छ ।