काठमाडौँ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज (आइतबार) देखि काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ । शनिबार भक्तपुरको सल्लाघारीमा भव्य उद्घाटन गरिएको महाधिवेशनको बन्दसत्र आज र भोलि चल्नेछ ।
बिहान ८ बजेदेखि सुरु हुने बन्दसत्रमा २,२६२ जना महाधिवेशन प्रतिनिधिले नयाँ नेतृत्व चयन प्रक्रियामा भाग लिनेछन् ।
यसपटकको महाधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष खड्गप्रसाद शर्मा ओलीलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चुनौती दिने तयारी गरेका छन् । अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका पोखरेललाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पक्षको समर्थन रहेको चर्चा छ ।
यद्यपि, बन्दसत्र सुरु हुनुअघिसम्म दुवै पक्षले आफ्नो प्यानल भने घोषणा गरिसकेका छैनन् ।
महाधिवेशनले अध्यक्षसहित १५ सदस्यीय पदाधिकारी र २५१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ । जसमा एक अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र सात सचिव रहनेछन् ।