काठमाडौँ।
रुससँगको युद्ध अन्त्य गर्ने अमेरिकी पछिल्लो शान्ति योजनाअन्तर्गत युक्रेन सन् २०२७ को जनवरीसम्ममा युरोपेली संघ (ईयू) मा सामेल हुन सक्ने सम्भावना बढेको छ ।
समाचार संस्था एएफपीका अनुसार, अमेरिकी नेतृत्वको शान्ति प्रस्तावमा युक्रेनलाई ईयूको सदस्यता दिलाउने विषय समावेश छ । सामान्यतया ईयू सदस्यताको प्रक्रिया निकै लामो र जटिल हुन्छ, जसमा सबै २७ सदस्य राष्ट्रको सर्वसम्मत सहमति आवश्यक पर्छ ।
हाल हंगेरीलगायत केही देशहरूले युक्रेनको सदस्यतामा असहमति जनाउँदै आएका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकाले ती देशहरूलाई आफ्नो अडान परिवर्तन गर्न मनाउने प्रयास गरिरहेको बताएका छन् ।
युक्रेनले लामो समयदेखि ईयूको सदस्यताका लागि प्रयास गर्दै आएको छ । अमेरिकी नेतृत्वको पछिल्लो शान्ति प्रस्तावमा युक्रेनले रुसलाई केही भूभाग सुम्पनुपर्ने विवादास्पद प्रावधान पनि रहेको बताइएको छ ।