काठमाडौँ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन आज (शनिबार) देखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन समारोह दिउँसो १ बजे भक्तपुरको सल्लाघारीमा आयोजना हुनेछ ।
उद्घाटन समारोहलाई पार्टी अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले सम्बोधन गर्नेछन् भने अन्य राजनीतिक दलका प्रमुखहरूलाई पनि अतिथिका रूपमा आमन्त्रित गरिएको छ । महाधिवेशनमा सहभागी हुन देशभरबाट २२ सयभन्दा बढी प्रतिनिधि काठमाडौं आइसकेका छन् ।
यस महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । हालसम्मको अवस्था हेर्दा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने देखिएको छ । पोखरेलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन्, यद्यपि अन्तिम समयमा सहमति जुट्ने सम्भावनालाई पनि नकारिएको छैन ।
महाधिवेशनको बन्दसत्र भने आइतबारदेखि सुरु हुनेछ । शुक्रबार बसेको पार्टी सचिवालय बैठकले पदाधिकारी संख्या नबढाउने निर्णय गरेको छ । महाधिवेशनले १५ सदस्यीय पदाधिकारी र २५१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ ।