काठमाडौँ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन २३औँ भारत-रुस वार्षिक शिखर सम्मेलनमा सहभागी हुन आज (बिहीबार) भारत भ्रमणमा आउँदै छन् । अमेरिकी दबाबका बीच हुन लागेको यो भ्रमणलाई अन्तर्राष्ट्रिय स्तरमा निकै महत्त्वका साथ हेरिएको छ ।
हिन्दुस्तान टाइम्सका अनुसार, पुटिन बिहीबार दिउँसो दिल्ली आइपुग्ने छन् र उनको दुई दिने भ्रमण करिब ३० घण्टाको हुनेछ । भ्रमणका क्रममा रक्षा सहकार्यलाई अझ गहिरो बनाउने तथा व्यापार र ऊर्जा-सम्बन्धी सहयोग विस्तार गर्ने विषय मुख्य एजेन्डामा रहेका छन् ।
अमेरिकाले रुसी तेल खरिद नगर्न भारतमाथि दबाब बढाइरहेको पृष्ठभूमिमा हुन लागेको यो भ्रमणमा दुई देशबीच महत्त्वपूर्ण सम्झौताहरूमा हस्ताक्षर हुने अपेक्षा गरिएको छ ।
दशकौंदेखि घनिष्ठ सहयोगी रहेका भारत र रुसबीचको सम्बन्धलाई यो भ्रमणले थप उचाइ दिने विश्वास गरिएको छ । भ्रमणका क्रममा राष्ट्रपति पुटिनले भारतीय समकक्षी द्रौपदी मुर्मुसँग भेटवार्ता गर्नेछन् भने प्रधानमन्त्री नरेन्द्र मोदीले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुनेछन् । उनले प्रधानमन्त्री मोदीसँग विभिन्न द्विपक्षीय तथा अन्तर्राष्ट्रिय मुद्दाहरूमा विस्तृत छलफल गर्ने कार्यतालिका रहेको छ ।
पुटिनको भ्रमणलाई मध्यनजर गर्दै दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ ।