काठमाडौँ
केन्याली सांसदहरूले देशमा दशकौँदेखि तालिम लिँदै आएका बेलायती सैनिकमाथि यौन दुर्व्यवहार, हत्या, मानवअधिकार उल्लंघन र वातावरणीय क्षतिबारे गंभीर आरोप लगाएका छन्। लाईकिपिया र साम्बुरु क्षेत्रका स्थानीयले दिएको बयानका आधारमा तयार गरिएको संसदीय प्रतिवेदनले बेलायती सैनिकहरूले अनुसन्धानमा सहयोग गर्न नसकेको र प्रतिवेदनका निष्कर्षहरूलाई अस्वीकार गरेको आरोपसमेत लगाएको छ।
दुई वर्षको छानबिनपछि जारी ९४ पृष्ठ लामो प्रतिवेदनले बेलायती सेनाको प्रशिक्षण इकाइलाई निरन्तर नैतिक उल्लंघन, अधिकार हनन तथा वातावरणीय बेवास्ताका घटनामा संलग्न देखाएको छ। स्थानीय बासिन्दाले सेनाका सदस्यद्वारा हत्या, कुटपिट, दुर्घटना तथा हिंसात्मक घटनाहरू बारम्बार भएको दाबी गरेका छन्। २०१२ मा एग्नेस वान्जिरुको हत्या र त्यही वर्ष चरवाहा टिलाम लेरेशको गोली प्रहारमा मृत्युजस्ता घटनामा न्याय नपाएको उल्लेख छ।
प्रतिवेदनले विशेषगरी साम्बुरु र मासाई महिलामाथि बेलायती सैनिकबाट गरिएका बलात्कार र यौन हिंसाका अनेक गम्भीर आरोपहरू अघि सारेको छ। दर्जनौँ महिलालाई जंगलमा दाउरा, पानी ल्याउँदा वा चौपायालाई चराउँदा सैनिकहरूले आक्रमण गरेको विवरण राखिएको छ। १९९७ मा आर्चर पोस्टमा ३० महिलामाथि सामूहिक बलात्कार भएको घटनासमेत पुनः उल्लेख गरिएको छ। यस्ता घटनाबाट जन्मिएका बालबालिकालाई सैनिकहरू फिर्ता भएपछि विस्थापित आमाहरूले आर्थिक र सामाजिक कठिनाइ झेलिरहेका छन्।
यसबाहेक, वातावरणीय क्षति, विषाक्त पदार्थको प्रयोग, सेतो फस्फोरसको सम्भावित प्रयोग, अविस्फोटित बारुदका कारण मानवीय तथा जनावरमा परेको क्षति लगायतका विषय पनि प्रतिवेदनले उठाएको छ। स्थानीयले श्वासप्रश्वाससम्बन्धी समस्या, गर्भपतन, पशुहरूको मृत्युजस्ता असर देखिएको बताएका छन्।
संसदीय समितिले बेलायती सैनिकहरूले छानबिनका क्रममा कमिटीमा उपस्थित हुन अस्वीकार गरेको र कूटनीतिक प्रतिरक्षा दाबी गर्दै प्रक्रिया रोक्ने प्रयास गरेको आरोप लगाएको छ। बेलायती उच्चायोगले भने नयाँ प्रमाण आएमा पूर्ण छानबिन गर्न तयार रहेको बताएको छ।
सिफारिसहरूमा दुई देशबीचको सैनिक सहकार्य सम्झौतामा व्यापक संशोधन, स्पष्ट आचारसंहिता, लैंगिक विषयमा शून्य सहनशीलता, वातावरणीय दायित्व, नागरिक निगरानी, र सैनिकहरूले जन्माएका बालबालिकाको अभिभावकत्व तथा आर्थिक जिम्मेवारीबारे ठोस प्रबन्ध गर्न प्रस्ताव गरिएको छ।