काठमाडौँ।
सर्वोच्च अदालतको आदेशअनुसार विश्वासको मत लिन बोलाइएको मधेस प्रदेशसभाको बैठक मुख्यमन्त्री सरोज कुमार यादव नै अनुपस्थित भएपछि स्थगित भएको छ। यो घटनाले प्रदेश सरकारको भविष्य थप अनिश्चित बनेको छ।
विश्वासको मत लिने प्रयोजनका लागि बुधबार बिहान ८:३० बजे बोलाइएको बैठक ढिलोगरी १०:३० बजे सुरु भएको थियो। तर, बैठकमा मुख्यमन्त्री यादवसहित अन्य मन्त्रीहरू पनि उपस्थित नभएपछि सभामुखले बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित गरेका हुन्।
प्रदेशसभाको कार्यसूचीअनुसार मुख्यमन्त्री यादवले नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम विश्वासको मतका लागि प्रस्ताव पेश गर्नुपर्ने थियो।
संविधानको धारा १६८ (३) अनुसार प्रदेशसभाको सबैभन्दा ठूलो दल एमालेको संसदीय दलको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका यादवलाई सर्वोच्च अदालतले सोमबार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो। अदालतको पत्र मंगलबार प्राप्त भएपछि मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने कार्यसूची तय भएको थियो।