काठमाडौँ।
भैरहवास्थित आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको पहिलो चार महिनामा लक्ष्यभन्दा १ अर्ब १५ करोड ७८ लाख रुपैयाँ बढी राजस्व संकलन गरेको छ ।
कार्यालयका प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलका अनुसार साउनदेखि कात्तिकसम्ममा ४ अर्ब २३ करोड ६८ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य रहेकोमा ५ अर्ब ३९ करोड ४६ लाख रुपैयाँ संकलन भएको हो । यो लक्ष्यको १२७ प्रतिशतभन्दा बढी हो ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा राजस्व संकलन ५१.५ प्रतिशतले वृद्धि भएको कार्यालयले जनाएको छ । संकलित राजस्वमा सबैभन्दा ठूलो हिस्सा (८२.६ प्रतिशत) अन्तःशुल्कको रहेको छ ।
उद्योगी-व्यवसायी र कर प्रशासनको संयुक्त प्रयासले लक्ष्यभन्दा बढी राजस्व उठाउन सफल भएको प्रमुख पोख्रेलले बताए । यस कार्यालयअन्तर्गत ६४ हजारभन्दा बढी करदाता रहेका छन् ।