काठमाडौं ।बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसीना मानवताविरुद्धका पाँचवटा अपराधमध्ये तीनमा दोषी ठहर भएकी छन्।
ढाकामा अन्तर्राष्ट्रिय अपराध ट्रिब्युनलले उनलाई फासीको सजाय सुनाएको हो। समाचारअनुसार अदालतले उनलाई मृत्युदण्डको सजाय सुनाएको हो । अदालतको फैसला प्रत्यक्ष प्रसारण भइरहेको छ।
ढाकामा अन्तर्राष्ट्रिय अपराध ट्रिब्युनलले उनलाई मानवताविरुद्धको अपराधको दोषी ठहराउँदै हत्या घटनाका मुख्य योजनाकार ठहराएको छ।
भारतमा निर्वासित जीवन बिताइरहेकी शेख हसिनासँगै पूर्व गृहमन्त्री आसदुज्जमान खान कमाललाई मृत्युदण्डको सजाय सुनाइएको छ।
ट्रिब्युनलले अगष्ट २०२४ मा भएको विद्यार्थी आन्दोलनको क्रममा भएका हत्याको मुख्य योजनाकारका रूपमा उनीहरूलाई दोषी ठहर गरेको छ। शेख हसिना सत्ताबाट ढलेपछि भारतमा निर्वासित जीवन बिताइरहेकी छन् । उनी विगत १५ महिनादेखि भारतमै बसिरहेकी छिन्।
हसिनालाई फासीको सजाय हुने फैसलापछि बंगलादेशभर हिंसा जारी छ। सरकारले उच्च सतर्कता घोषणा गरेको छ। ढाकामा १५ हजार प्रहरी परिचालन गरिएको छ र हिंसात्मक प्रदर्शनकारीमाथि गोली चलाउने आदेश दिइएको छ।
शनिबार रातिदेखि आइतबार बिहानसम्म ढाकामा दुई वटा बसमा आगजनी भएको छ। फैसलापछि हिंसा बढ्ने सम्भावनालाई मध्यनजर गर्दै देशभर सुरक्षा व्यवस्था कडा गरिएको छ।
यो मुद्दा गत वर्ष जुलाईमा भएको विद्यार्थी नेतृत्वको आन्दोलन का क्रममा भएका अपराधसँग सम्बन्धित छ।
पूर्वगृहमन्त्री असदुज्जामान खान कमाल र पूर्व प्रहरी महानिरीक्षक चौधरी अब्दुल्ला अल–मामुन पनि सह–आरोपीका रूपमा मुद्दामा तानिएका थिए ।
७८ वर्षीया हसिनाले गत वर्ष साउन २ मा शासनबाट हटाइएपछि भारतबाट फर्केर अदालतमा उपस्थित हुन दिएको आदेश उल्लङ्घन गरेको आरोप छ। उनीमाथि प्रदर्शन दमन गर्न घातक कारबाहीको आदेश दिएको आरोप थियो।
असदुज्जामान फरार छन् भने मामुन हिरासतमा छन्, उनले दोष स्वीकार गरिसकेका छन्।
उनीहरूविरुद्ध सरकारी अधिकारीहरूले पाँचवटा मुद्दा दर्ता गरेका छन्, जसमा हत्या रोक्न नसक्नु पनि समावेश थियो । जुन बंगलादेशी कानुन अनुसार मानवताविरुद्धको अपराधमा पर्छ। दोषी ठहरिए उनीहरूलाई मृत्युदण्ड माग गरिएको थियो।
दोषी ठहरिएपछि उनीहरूको सम्पत्ति जफत गरी पीडित परिवारलाई वितरण गरिने भएको छ। तर विपक्षीले आफूहरू निर्दोष ठहरिने आशा व्यक्त गरेका थिए। हसिनाले सबै आरोप अस्वीकार गरेकी थिइन्। यो आन्दोलनका क्रममा भएका विभत्स घटनाहरूमा ट्रिब्युनलको पहिलो फैसला भएको छ।
फैसला बंगलादेश टेलिभिजन र निजी च्यानलहरूले प्रत्यक्ष प्रसारण गरिरहेका छन् । हसिनाविरुद्ध आईसीटीमा अन्य तीन मुद्दा पनि छन्, दुई जबरजस्ती बेपत्ता पारिएका घटनाबारे र एउटा सन् २०१३ मा मोतीझीलको शापला चत्तरमा भएको दाबी गरिएको सामूहिक हत्यासम्बन्धी पनि छ।
कमालमाथि पनि दुई जबरजस्ती बेपत्ता पारिएका घटनाका मुद्दा छन्। जुलाई २ मा आईसीटी–१ ले हसिनालाई अदालतको अवहेलना गरेको ठहर गर्दै ६ महिनाको साधारण जेल सजाय सुनाएको थियो।
यो सजाय स्थानीय नेतासँगको फोन वार्तामा अदालतविरुद्ध टिप्पणी गरेको आधारमा भएको हो। ट्रिब्युनलले महिनौंदेखि उनीमाथि सामूहिक हत्या गर्न आदेश दिएको दाबी गर्ने साक्ष्य सुन्दै आएको छ।
आरोपहरू:
आरोप नम्बर १ : हत्या, हत्या प्रयास र यातना दिएको आरोप छ। चार्जशीट अनुसार हसिनाले प्रहरी र अवामी लीगसँग जोडिएका सशस्त्र समूहलाई सर्वसाधारणमाथि हमला गर्न उक्साइन्, त्यसलाई बढावा दिइन् र हिंसा रोक्न असफल भइन्।
आरोप नम्बर २ : विद्यार्थी प्रदर्शन दबाउन हसिनाले घातक हतियार, हेलिकप्टर र ड्रोन प्रयोग गर्ने आदेश दिएकी आरोप छ।
आरोप नम्बर ३ : १६ जुलाईमा बेगम रौकेया विश्वविद्यालयका विद्यार्थी अबू सैयदको हत्या सम्बन्धी आरोप। चार्ज अनुसार यो हत्या हसिना र अन्य आरोपितको आदेश, साजिश र संलग्नताका आधारमा गरिएको हो।
आरोप नम्बर ४ : ५ अगस्टमा ढाकाको चाँखारपुलमा छ जना निहत्था प्रदर्शनकारीको हत्या। यो पनि हसिनाको प्रत्यक्ष आदेश, उक्सावा, सहयोग र साजिशका कारण भएको दाबी छ।
आरोप नम्बर ५ : पाँच प्रदर्शनकारीलाई गोली हानी हत्या गरिएको, एकलाई घाइते बनाइएको र मारिएका पाँच जनाको शव जलाइदिएको आरोप छ। एक प्रदर्शनकारीलाई जिउँदै जलाइएको दाबी पनि यस आरोपमा समावेश छ।