काठमाडौँ ।
आश्विन शुक्ल पक्षको एकादशीका दिन पनि बडादशैँको टीका लगाउने क्रम देशभर जारी छ। यस वर्षको दशैँमा विजयादशमीका दिनदेखि सुरु भएको मान्यजनको हातबाट टीका र जमरा ग्रहण गर्ने परम्परा कोजाग्रत पूर्णिमासम्म चल्नेछ।
शुक्रबार २१ घडी ५२ पला अर्थात् दिउँसो २ बजेर ४३ मिनेटसम्म एकादशी तिथि रहेकाले यस दिन पनि टीका लगाउन शुभ मानिएको छ। बडादशैँ अर्थात् शरद नवरात्रभर नवदुर्गा भवानीको विशेष पूजा अर्चना गरी विजयादशमीका दिन मान्यजनको हातबाट प्रसादका रूपमा टीका र जमरा लगाउने प्रचलन छ।
विजयादशमीका दिन घरमा मान्यजनको हातबाट टीका लगाएपछि सर्वसाधारण आफन्त, बन्धु, मावली र ससुरालीलगायतका नाताकहाँ टीका लगाउन जाने गर्छन्। टाढाटाढा रहेका आफन्तजनसँग भेटघाट गर्ने र आशीर्वाद लिने यो क्रमले दशैँको रौनकलाई थप बढाएको छ।
आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन जमरा विसर्जन गरेपछि मात्र यस वर्षको दशैँको टीका लगाउने क्रम समाप्त हुनेछ। यसरी दशैँले नेपाली समाजमा पारिवारिक मिलन, सद्भाव र खुसीको वातावरण सिर्जना गरेको छ।