काठमाडौँ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी सन्दीप लामिछानेले आफूलाई लिएर भइरहेका समाचारहरू, विशेषगरी कान्तिपुर टेलिभिजनबाट प्रसारित सामग्रीप्रति कडा आपत्ति जनाएका छन्। आइतबार साँझ सामाजिक सञ्जालमार्फत उनले 'हावामा समाचार हाल्ने प्रवृत्ति' बन्द गर्न चेतावनी दिएका हुन्।
लामिछानेले कान्तिपुर टेलिभिजनलाई लक्षित गर्दै प्रश्न गरेका छन्, "कहिले सुध्रिन्छौ यार, Kantipur TV HD? अहिलेसम्म पनि यही कुरा मात्र ठूलो विषय ठानिरहनुभएको छ? यत्रा हालत हुँदा पनि अझै सुध्रिन सकिएको छैन? त्यस्तो कुरा हो भने प्रमाणसहितको स्रोत मेरो अगाडि ल्याउनुहोस्।"
उनले प्रसारणमा आएको लोगोबारे पनि स्पष्टीकरण दिँदै भनेका छन्, "Naasa Securities" लगाएर खेल्दिन भनिएको भए, अष्ट्रेलियाको सिरिजमा के लगाएर खेलिएको थियो त? र, यहाँका खेलहरूमा पनि त्यही लोगो छ।"
क्रिकेट संघ (क्यान) सँग सम्बन्धित विषयलाई व्यक्तिगत समस्या भन्दै लामिछानेले त्यसको समाधान आफैंले गर्ने बताएका छन्। उनले प्रश्न उठाएका छन्, "तर त्यसलाई लिएर किन त्यति चासो देखाएर हावामा समाचार हालिन्छ?"
लामिछानेले सञ्चारमाध्यमलाई जिम्मेवार बन्न आग्रह गर्दै थपे, "समय अझै छ—बेलामा बुझेर समाचार लेख्ने बानी बसाल्नुस्। तपाईंहरूलाई म अझै पनि नेपालको एक अग्रणी सञ्चारमाध्यम भनेर सम्मान गर्छु। तर अबदेखि यस्तो नहोस् भन्ने मात्र चाहन्छु।"
सन्दीप लामिछानेको यो प्रतिक्रियाले नेपाली क्रिकेट र सञ्चार क्षेत्रमा नयाँ बहस सिर्जना गरेको छ।