काठमाडौँ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाली काँग्रेसका सभापति शेर बहादुर देउबा र निवर्तमान ऊर्जामन्त्री दिपक खड्काको निवासमा भेटिएको भनिएको जलेका नोटबारे अनुसन्धान सुरु गरेको छ।
जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते देउवा र खड्काको घरमा आगजनी हुँदा ठूलो मात्रामा नगद जलेको दाबीसहितका भिडियो र तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए।
आइतबार विभागको टोलीले दुवै घरमा पुगेर जलेका नोटका टुक्रा र खरानी सङ्कलन गरेको छ। विभागका अधिकारीहरूका अनुसार सङ्कलित नमूनाको फरेन्सिक परीक्षण गरी घटनाको सत्यता पत्ता लगाइनेछ। नेपाली तथा विदेशी मुद्राको वास्तविकता प्रमाणित भएमा उनीहरू सम्पत्ति शुद्धीकरण अनुसन्धानको दायरामा तानिने सम्भावना रहेको बताइएको छ।
यद्यपि, देउवाको सचिवालयले निवासमा जलेको नोट भेटिएको भन्ने प्रचारलाई निराधार र मिथ्या बताएको छ। आगजनी भएको करिब दुई सातापछि मात्र विभागले अनुसन्धान अघि बढाएको हो। प्रहरीले दुवै घर जलेको तेस्रो दिनदेखि मात्रै बाह्य व्यक्तिको प्रवेशमा रोक लगाएको थियो।